तपाईँ सुन्दै हुनुहुन्छः

आलोचनालाई सुधारका रुपमा लिन प्रतिपक्षी सांसदहरूको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीलाई सीमा विवादसम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिबारे संसदमा आएर स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन पुनः माग गर्नुभएको छ ।

प्रधानमन्त्रीलाई प्रतिपक्षसँग नडराउन, संवाद गर्न र आलोचनालाई शत्रुता होइन, सुधारका रुपमा लिन प्रतिपक्षी दलका सांसदहरुले आग्रह गर्नुभयो ।

सांसदहरुले मुलुकको हितमा हुने सबै काममा प्रतिपक्षी दलहरू पनि सँगै रहेको उल्लेख गर्दै सरकारलाई सही बाटोमा हिँडाउन सत्तापक्षको खबरदारी र प्रतिपक्षको आलोचना दुवै आवश्यक पर्ने धारणा राख्नुभयो ।

सांसदहरुले सुनसरीको कप्तानगञ्जमा भएको घटना जुनसुकै कारणले भएको भएपनि त्यहाँ मृत्यु हुने नागरिकहरू नेपाली नागरिक नै भएको भन्दै आफ्ना नागरिकको जीउ धनको रक्षा सरकारले गर्नुपर्ने र त्यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक सुरक्षा व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र ग्याँस अभावका कारण नागरिकहरूको चुलो बाल्न समस्या भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसअघि प्रतिनिधि सभाको आजको बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गर्नुभयो । 

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा भारतको भूमि नेपालले पनि मिचेको छ भन्ने जवाफ दिएपछि बैठकमा प्रतिपक्षी दलहरूले निरन्तर उठेर विरोध गर्दै आइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button