देशमा शान्ति, सुरक्षा कायम गर्न सरकार निरन्तर लागिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार निरन्तर लागिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभामा आज भएको सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा गृहमन्त्री गुरुङले देशमा भएका हत्या, हिंसा, बलात्कार लगायतका अपराधहरूको विषयमा चरणबद्ध रुपमा अनुसन्धान गरिरहेको बताउनुभयो ।
मन्त्री गुरुङले बेरोजगारी र गरिबिका कारण युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्या जस्ता विषयमा तीन तहका सरकारबिच समन्वय गरेको काम गर्ने योजना बनाएको बताउनुभयो ।
गृहमन्त्री गुरुङले सांसद विष्णुबहादुर विश्वकर्माले कञ्चनपुरकी निर्मला पन्तले न्याय नपाएको विषयमा गर्नुभएको प्रश्नमा भने उत्तर दिन नचाहेको भन्दै सांसदहरूलाई सदनमा अब निर्मला पन्त प्रकरणका विषयमा प्रश्न नगर्न आग्रह गर्नुभयो ।
प्रश्नोत्तर कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप प्रभावकारी बनाइने बताउनुभयो ।
मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आवागमनसम्बन्धी व्यावहारिक कठिनाइलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ब्लु बस सेवा सञ्चालनमा ल्याएको बताउनुभयो ।
मन्त्री बादीले सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको बताउनुभयो ।
उहाँले सार्वजनिक यातायातलाई सुरक्षित र प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
यसैबीच, राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले दैनिक उपभोग्य वस्तु ग्यास अभाव तथा कालोबजारी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
दैनिक उपभोग्य वस्तु तथा ग्याँसको अभावले नागरिक घण्टौँ लाइन बस्नुपर्ने अवस्था आएको भन्दै बजार अनुगमन, कालोबजारी नियन्त्रण गर्न र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सांसदहरुले माग गर्नुभयो ।
सांसदहरुले स्वास्थ्य विमा प्रभावकारी हुन नसकेको भन्दै नागरिकसँग स्वास्थ्य विमाको कार्ड र आश्वासन भए अनुसार औषधी उपचार नपाएको भन्दै स्वास्थ्य विमा प्रभावकारी बन्न नसकेको बताउनुभयो ।
सांसदहरुले ग्रामीण भेगमा बाँदर, बँदेललगायतका वन्यजन्तुको आतङ्कले किसानले लगाएका बाली नष्ट बनाउँदा किसानहरु मारमा परेको भन्दै रोकथाम, नियन्त्रण र किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्