निर्माणाधीन कल्भर्टको खाडलमा डुबेर दुई बालिकाको मृत्यु
बीरगंज । वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्तामा निर्माणाधीन (पुल) कल्भर्टको खाडलमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय प्रभु ठाकुरका दुई छोरीहरू ५ वर्षीया पुचकी ठाकुर र ३ वर्षीया घघरी ठाकुर रहेका छन् ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ४ देखि ५ बजेको समयमा अभिभावकसँगै खेततर्फ गएका र घरबाहिर खेलिरहेका बालिकाहरू एकाएक बेपत्ता भएका थिए । बालिकाहरू हराएपछि परिवार र स्थानीयवासीले नजिकका टोल तथा खेतबारीमा खोजी गर्नुका साथै रातिनै प्रहरीलाई समेत खबर गरेका थिए ।
खोजी गर्ने क्रममा आज (मङ्गलबार) बिहान निर्माणाधीन कल्भर्टको खाल्डोमा जमेको पानीभित्र दुवै बालिका डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । बालिकाहरू कुन परिस्थितिमा खाल्डोसम्म पुगेर डुबे भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एकै परिवारका दुई नाबालक छोरीहरूको अकालमा मृत्यु भएपछि सुगौली बिर्ता गाउँ शोकमग्न बनेको छ । निर्माणाधीन क्षेत्रमा आवश्यक सुरक्षा घेरा वा छेकबार नलगाएकै कारण यो दुर्घटना भएको भन्दै स्थानीयवासीले सम्बन्धित ठेकेदार र निकायको लापरबाहीप्रति कडा आक्रोश र गुनासो व्यक्त गरेका छन् ।







प्रतिक्रिया राख्नुहोस्