तपाईँ सुन्दै हुनुहुन्छः

यातायात क्षेत्रका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश भित्र देखिएका सार्वजनिक यातायातका  बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष सरोज सिटौलासँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । 

अध्यक्ष सिटौलाले बागमती प्रदेशमा विशेष गरी काठमाडौँ उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, दुर्घटनामा परी मृत्यु हुनेको क्षतिपूर्ति समस्या र उपचार  समस्या सम्बन्धमा सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो । उहाँले हाल उपचारका क्रममा घाइतेहरूलाई महँगा प्राइभेट अस्पतालमा उपचार गर्नुपर्ने र बिमाबाट ३ लाख मात्र क्षतिपूर्ति पाउने हुँदा व्यवसायीलाई समस्या परेको बताउनुभएको थियो । 

सो अवसरमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकार ट्राफिक समस्या समाधान गर्न मृतकलाई क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न र घाइते उपचारको सन्दर्भमा व्यवसायीसँग मिलेर यो बहुआयामिक समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । भेटका क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश केन्द्रीय राजधानी समेत रहेको प्रदेश भएको र यस प्रदेश भित्र मुलुकको ६० प्रतिशत भन्दा बढी सवारी भार भएको हुँदा यहाँ सार्वजनिक यातायातको सबैखाले समस्या समाधान गर्न चुनौती पूर्ण रहे पनि आफू यातायातका समस्या समाधान गर्न लागि पर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button