प्रधानमन्त्री शाहको अभिव्यक्ति प्रति स्पष्टीकरणको माग गर्दै प्रतिपक्षी दलहरूद्वारा संसद अवरोध
काठमाडाैँ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबारको बैठकमा दिनुभएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।

बैठकमा प्रतिपक्षी दलका सांसदहरुले प्रधानमन्त्री शाहले तथ्य प्रमाण र यथार्थमा आधारित भएर बोल्नुपर्ने भन्दै नेपालले भारतको सीमा मिचेको प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।
बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री शाहले संसदको रोष्ट्रममा उभिएर बोलेको विषयमा आफूहरूको नोटअफ डिसेन्ट रहेको भन्दै नेपालले भारतको कहाँ कहाँ जग्गा मिचेको हो त्यो हिसाब दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले बोले कै आधारमा भोली भारतले नेपालले मिचेको जमिन फिर्ता माग्यो भने कहाँ कसरी दिने हो त्यो स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले देशका प्रधानमन्त्रीले नै नेपालले भारतको भूमि मिचेको भनेर दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको भन्दै अभिव्यक्ति फिर्ता लिन माग गर्नुभयो ।
उहाँले नेपालले कही कतै पनि भारतको भूमि नमिचेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सबै नेपालीको शिर झुकेको र प्रधानमन्त्रीको अभिव्यक्ति पछि सुस्तामा बाध निर्माणको कामलाई भारतीयपक्षले अवरोध पु¥याएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले देशको प्रधानमन्त्री जिम्मेवार पूर्ण हुनुपर्नेमा बहुमतको बल र अनुभवको अभावमा संसदमा तथ्यहीन र त्रुटिपूर्ण अभिव्यक्ति दिएको बताउनुभयो ।
उहाँले सत्तापक्षीय दलका सभापति रवी लामिछाने भारत भ्रमण जाने समयमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति कतै भारताका लागि उपहार त होइन भनी प्रश्न समेत गर्नुभयो ।
श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले राष्ट्रियतासँग जोडिएको गम्भीर विषयमा प्रधानमन्त्रीको जवाफले गलत नजिर स्थापित गरेको बताउँदै अभिव्यक्ति फिर्ता नलिँदासम्म सदन अवरोध जारी रहने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति तथ्य प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिँदै नेपालले भारतको सीमा मिचेको कुनै पनि प्रमाण छ भने पेश गर्न माग गर्नुभयो ।
प्रतिपक्षी दलका सांसदहरुले तथ्य र प्रमाणविना प्रधानमन्त्री शाहले संसदको रोष्ट्रममा उभिएर बोलिरहँदा सभामुख डोलप्रसाद अर्यालले त्यसमा रुलिङ नगरेर मौन रहेर समर्थन गरेको भन्दै त्यसको पनि विरोध गर्नुभयो ।
सभामुख अर्यालले आइतबारको सभाको बैठकको गतिरोध अन्त्य गर्न प्रतिपक्षी दलहरूसँग पटक–पटक सहमतिको प्रयास र संवाद गर्न खोजेको भएपनि प्रतिपक्षीदलहरुले चासो नदेखाएका कारण प्रक्रिया अगाडी बढाएको बताउनुभयो ।
आज पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको तर विपक्षी दलका प्रतिनिधि छलफलमा नआएको जानकारी गराउँदै सभामुख अर्यालले कानुन बनाउन, राष्ट्र, राष्ट्रियताका सवालमा प्रतिस्पर्धा गर्न सुझाव दिँदै सभामुखसँग प्रतिस्पर्धा नगर्न प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गर्नुभयो ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिका विषयमा स्पष्टीकरणको माग गर्दै प्रतिपक्षीले सभामा अवरोध जारी राखेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्