जुम्लाका धीरबहादुर र सुनमायाले जिते छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि

जुम्ला । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाद्वारा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि जुम्लाकै धावकले जितेका छन् । प्रतियोगिताको महिला र पुरुष तर्फको दुवै उपाधि जुम्लाका धावकले जितेका हुन्
मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेसको उपाधि पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढाले स्वर्ण पदक जितेका हुन् ।
कार्मारोङ क्षेत्रलाई खेल पर्यटन गन्तव्यका रुपमा विकास गर्न आयोजना गरिएको ३३ किमी दुरीको रेसमा पुरुष तर्फका विजेता धीरबहादुरले निर्धारित दुरी ३ घण्टा ५७ मिनेट २५ सेकेन्डमा पार गरेका थिए ।
साथै जुम्लाकै दलबहादुर कुँवर ४ घण्टा २ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरेर दोस्रो भए । भने चन्द्रबहादुर रावतले ४ घण्टा ५ मिनेटमा दूरी पार गरेर तेस्रो भएका छन् ।
त्यसैगरी अर्जुन कुलुङ राईले ४ घण्टा २४ मिनेटमा चौथो र रमेश लिम्बु ४ घण्टा ३० मिनेट १० सेकेन्डमा दूरी पार गरेर पाँचौँ स्थान ओगट्न सफल भए ।

महिलातर्फ जुम्लाकै सुनमाया बुढाले ५ घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेकी छन् । भने राममाया बुढाले ५ घण्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पार गरेर दोस्रो र कल्पना बुढाले ५ घण्टा ३५ मिनेट २० सेकेन्डमा दूरी पार गरी तेस्रो स्थानमा आएका हुन् ।
सम्झना बुढाले ५ घण्टा ४० मिनेट १० सेकेन्डमा चौथो र निर्मला राईले ५ घण्टा ४८ मिनेटमा दूरी पार गरेर पाँचौँ स्थान हासिल गरे ।
प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । धार्मिक तथा पर्यटकीय महत्व बोकेको रेस किम्रीबाट सुरु भई छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर सकिएको थियो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम आउनेले नगद जनही दुई लाख रुपैयाँ, मेडल र प्रमाणपत्र पाउने छन् ।
यस्तै, दोस्रो हुनेले नगद एक लाख ५० हजार रुपैयाँ, तेस्रोले एक लाख नगद, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्