४ जिपिए ल्याउने आफ्नो पालिका भित्रका विद्यार्थीहरूलाई गोकर्णेश्वरले निःशुल्क पढाउने
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले यस वर्षको एसइई परीक्षामा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई निःशुल्क पढाउने निर्णय गरेको छ ।
गोकर्णेश्वर नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूबाट शैक्षिक सत्र २०८२ को एसइई परीक्षामा ४ जिपिए प्राप्त गरेका ७५ जना विद्यार्थीलाई नगरपालिकाभित्र सञ्चालित ५८ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा माध्यमिक शिक्षा कक्षा ११ र १२ मा निःशुल्क पठनपाठनको व्यवस्था गरिएको नगरप्रमुख दिपक कुमार रिसालले जानकारी दिनुभयो ।
५८ वटा विद्यालय मध्ये आफूले छनोट गरेको विद्यालयमा भर्ना हुन नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिकाले स्थानीयको स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेको नगरप्रमुख रिसालले बताउनुभयो ।
नगरवासीहरूका लागि नगर अस्पतालमार्फत निःशुल्क उपचार एवं विभिन्न अस्पतालमार्फत सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै ५० वटाभन्दा बढी केन्द्रहरूमा नियमित योग हुने गरेको नगरपालिकाले जनाएको छ ।
गत वर्ष योग नगर घोषणा गरेको गोकर्णेश्वरले यस वर्षदेखि गोकर्णेश्वर स्वस्थ शहर अपिल कार्यक्रम सञ्चालन गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्