दिक्तेलमा पहिलो पटक पाँच दिने विज्ञान मेला सुरु

काठमाडौँ । हिमालय माध्यमिक विद्यालय सोल्मा दिक्तेलद्वारा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा शुभम् फाउन्डेसनसँग सहकार्य गरी पाँच दिने ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान गणित प्रदर्शनी–२०८३’ आयोजना गरिएको छ ।
आजबाट यही ७ गतेसम्म सञ्चालन गरिने विज्ञान प्रदर्शनीमा विद्यालय तहदेखि उच्च प्रविधियुक्त चाइनिज ईभी कार समेत प्रदर्शनी हुनेछ । त्योसँगै, एआई रोबटिक्स्, मानिससँग कुराकानी गर्ने भुन्टेलाई विशेष आकर्षणको रूपमा हेरिएको प्रदर्शनी संयोजक सूर्य राईले बताउनुभयो ।
नगरपालिका क्षेत्रमा पहिलो पटक हुन लागेको विज्ञान प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीहरूको प्रदर्शनी प्रतिस्पर्धा, रोबोकार रेस, वक्तृत्व कला र हाजिरी जवाफ प्रतियोगिता हुनेछ ।

काठमाडौँ उपत्यकाबाट सहभागी हुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), काठमाडौँ विश्वविद्यालय, अन्तरिक्ष प्रतिष्ठान नेपाल, त्रिचन्द्र बहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, वाल्मीकि क्याम्पस, नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो), बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बिएसएन), रोवटिक्स एसोसिएसन अफ नेपाल (र्यासन), स्वायड अफ चेन्ज मेकर्स, कान्तिपुर प्लानेटोरियम, युथ डेण्टिस्ट्री नेपाल, तथा जागरण डेण्टल क्लिनिक र एसपीजी अटोमोवाइल्स प्रा.लि, इनोभेसन हब र बत्स फोटो ग्यालरीको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले कोशी प्रदेशको आर्थिक सहयोगमा भएको प्रदर्शनीले भविष्यमा हाम्रा बालबालिकाले एआई कसरी दैनिक जीवनमा प्रयोग गर्ने भन्ने जानकारी हाँसिल गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्