तपाईँ सुन्दै हुनुहुन्छः

विद्युतीय प्रयोग बढाउन वातावरणविद्हरूको सुझाव

काठमाडौँ । इन्धन खपत घटाउन विद्युतीय ऊर्जाको प्रयोग बढाउन वातावरणविद्हरुले जोड दिनुभएको छ ।

कैलाश कुट सामाजिक अभियानले आज हाँडीगाउँमा आयोजना गरेको स्वस्थ वातावरण आजको आवश्यकता विषयक कार्यक्रममा उहाँहरूले कम ऊर्जा खपत गरी छिटो पकाउनका लागि भान्सामा इन्डक्सनको प्रयोगलाई विस्तार गर्नुपर्ने बताउनुभयो ।

वातावरविद भुषण तुलाधरले घरमा हुने वायु प्रदूषण कम गर्न भान्सामा ग्याँसको सट्टा विद्युत् प्रयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले प्लास्टिक लगायतका फोहोर नजलाउन, औद्योगिक क्षेत्र र धेरै प्रदूषण हुने स्थानमा जाँदा तथा वाकिङ गर्दा मास्कको प्रयोग गर्न सुझाव दिनुभयो । वातावरणविद् तुलाधरले कुहिने र नकुहिने मिसिए पछि प्रदूषणमा समस्या थपिएको बताउनुभयो ।

वातावरणविद् सिलसिला आचार्यले हामीसँग भएको पुराना ज्ञान र परम्परालाई आधा मानेर अभ्यासमा ल्याउन सके वातावरण जोगिने बताउनुभयो । उहाँले वातावरणलाई स्वास्थ्य र समाजसँग जोडेर अघि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

समाजका अध्यक्ष महेश कुमार श्रेष्ठले स्वास्थ्य, शिक्षा, वातावरण र संस्कृतिका विषयमा जनचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिइएको बताउनुभयो ।

समाजका उपाध्यक्ष एवं शिक्षाविद् उत्तमराज त्रिपाठी र महासचिव इन्जिनियर मोहन पौडेलले वातावरण संरक्षण र प्रदूषण कम गरी जीवन्त हाँडीगाउ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भान्सामा ग्याँसको सट्टा विद्युतको प्रयोग बढाउन सके तुलनात्मक रुपमा खर्च कम हुने र वायु प्रदूषण समेत कम हुने विवरण प्रस्तुत गरिएको थियो ।

वायु प्रदूषणका कारण नेपालमा प्रति वर्ष ४० हजार भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button