तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा चैत २८ गतेदेखि महोत्सव सुरु हुँदै

डडेल्धुरा । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ डडेल्धुरा जिल्ला शाखाले यही चैत २८ गतेदेखि वैशाख १० गतेसम्म कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार मेला एवम् डडेल्धुरा महोत्सव आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलन मार्फत सङ्घले मेलाको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिएको हो । 

सङ्घका जिल्ला अध्यक्ष गणेश केसीले मेलामार्फत स्थानीय कला संस्कृतिको जगेर्ना गर्नुका साथै कृषि उत्पादनको प्रवद्र्धन र व्यापारिक गतिविधि विस्तार गर्ने उद्देश्य राखिएको बताउनुभयो । मेलामा स्थानीय कृषिजन्य उत्पादनहरूको प्रदर्शन तथा बिक्रीको व्यवस्था गरिनुका साथै विभिन्न व्यापारिक स्टलहरू राखिनेछन् । 

मेलामा प्रवेशका लागि सर्वसाधारणलाई एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा ५० रुपैयाँमा प्रवेशको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूका लागि भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो । 

मेलालाई थप आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहनेछ । साथै, बालबालिकाका लागि चर्खा बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक सामग्री तथा खेलकुदका गतिविधिहरू पनि समावेश गरिने जनाइएको छ ।

सङ्घले गत वर्ष पनि यस्तै मेला आयोजना गरेको स्मरण गराउँदै यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाउने तयारी भइरहेको जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने र सांस्कृतिक पहिचानलाई जोगाउने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको महोत्सवका प्रमुख व्यक्ति केसीले जानकारी दिनुभएको छ । महोत्सव टुँडिखेलमा हुने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button