तपाईँ सुन्दै हुनुहुन्छः

दुर्गम क्षेत्रमा स्वास्थ्य उपचारका लागि हेलिकप्टर चार्टरको बाध्यता

भोजपुर। दुर्गम पहाडी जिल्लाका नागरिकलाई स्वास्थ्य उपचारमा जानका लागि हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता छ ।

भोजपुरका नागरिकहरूलाई पनि जिल्लामा स्वास्थ्य सेवा प्रभावकारी नहुँदा सिकिस्त बिरामीहरूलाई थप उपचारका लागि हेलिकप्टर चार्टर नै गर्नु पर्ने बाध्यता छ । 

पूर्वका भोजपुर, खोटाङ, सङ्खुवासभा लगायतका जिल्लाहरूका नागरिकलाई यस्तै समस्या छ । उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि भोजपुर नगरपालिका ६ घर भई पञ्चकन्या मावि बोखिममा कार्यरत शिक्षक गणेश प्रधानलाई हेलिकप्टर चार्टर गरेर बिहीबार नर्भिक अस्पताल काठमाडौँ पठाइएको छ । 

जिल्लामा २०३५ सालदेखि हवाई उडान सुरु भएपनि उडान नियमित छैन । यहाँ नेपाल बायु सेवा निगमको जहाजले हप्तामा ३ उडान मात्र काठमाडौँका लागि गर्दे आएको निगमका भोजपुर प्रमुख प्रकाश खडकाले जानकारी दिनुभयो । सोदिन समेत मौसम खराब भएमा नियमित उडान हुँदैन । सदरमुकाममा हेलिकप्टरको आवाज सुन्न साथ जिल्लामाको बिरामी लिन आएछ भनेर थाहा हुने गरेको छ । स्थानीय टुँडिखेलमा विगतमा नेपाली सेनाको र सरकारका मन्त्रीहरू आउँदा मात्र हेलिकप्टर ल्यान्ड हुने गरेता पनि पछिल्लो समयमा बिरामी लिनका लागि हेलिकप्टर आउने गरेको छ । 

जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका साथै पर्याप्त प्रविधिहरू समेत नभएका कारण उपचारका लागि नागरिकहरूलाई अन्यत्र नै जानु पर्ने अवस्था सृजना हुने गरेको भोजपुर नगरपालिकाका स्थानीय सञ्जिव कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर हुने र उपचारका लागि जतिसक्दो चाँडो लैजानु पर्नेहरूलाई हेलिकप्टर चार्टर नै गरी लैजानु पर्ने बाध्यता रहेको छ ।” हेलिकप्टर चार्टर गरी बिरामी लैजाँदा लाखौँ खर्च गर्नु पर्ने भएकाले न्यून आर्थिक अवस्था भएकाहरूलाई सबैभन्दा बढी मार पर्ने गरेको छ । 

महँगो शुल्कमा हेलिकप्टर चार्टर गर्न बिरामीका आफन्त तयार हुने भएपनि कसरी हेलिकप्टर चार्टर गर्नेमा समेत समस्या हुने गरेको छ । स्वास्थ्य उपचारका लागि ग्रामीण क्षेत्रका बिरामीहरू अझै बढी मारमा पर्ने गरेका छन् । 

दुर्गम जिल्लाका यस्ता नागरिकका समस्याहरूलाई सरकारले पनि ध्यान दिएर समाधानमा लाग्नु पर्ने स्थानीय यदु सुवालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button