बागलुङमा दादुरा सङ्क्रमितको संख्या दुई सय नाघ्यो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा दादुरा सङ्क्रमितको संख्या दुई सय ५ पुगेको छ । गत फागुनको पहिलो हप्ताबाट दादुरा फैलिएको थियो ।
विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा नम्बर ७ बोबाङ, वडा नम्बर ८ सेराबाङ र वडा नम्बर ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार गरिएको थियो ।
उपचारमा आएका बिरामी मध्ये १ सय ११ महिला र ९४ जना पुरुष रहेको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिश्वर शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अधिकांश बिरामी सफल उपचारपछि घर फर्किएका छन् । अहिले बुर्तिबाङ अस्पतालमा ८ र बोबाङ स्वास्थ्य चौकीमा ३ जना बिरामी अझै उपचाररत रहेका छन् ।
सङ्क्रमितमध्ये १ सय २७ जनाको बुर्तिबाङ अस्पताल तथा अन्यको विभिन्न स्वास्थ्य संस्थामा उपचार गरिएको अस्पतालका डाक्टर दिपिन थापाले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा जाँच गर्दा १३ जनामा दादुरा पुष्टि भएपछि पालिकाले सङ्क्रमण फैलिन नदिन खोप अभियान समेत सञ्चालन गरेको थियो ।
ढोरपाटनसँग सीमा जोडिएका निसीखोला र बडिगाड गाउँपालिकाका एक÷एक जना तथा तमानखोला गाउँपालिकामा २ जना सङ्क्रमित भेटिएका छन् । उनीहरूको बुर्तिबाङ अस्पताल, बोबाङ स्वास्थ्य चौकी र अन्य स्वास्थ्य इकाइ मार्फत उपचार भइरहेको बताइएको छ । ढोरपाटनसंग जोडिएका छिमेकी पालिकामा पनि सङ्क्रमित भेटिन थालेपछि पालिकाहरुले नियन्त्रणको काम थालेका छन् ।
तमानखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिल बहादुर छन्त्यालले पालिकामा दादुरा सङ्क्रमणको जोखिम कायमै रहेकाले विद्यालयदेखि घरदैलो गरेर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिएको बताउनुभयो । अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीहरूलाई दादुरा विरुद्धको खोप लगाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्