२२ गतेदेखि मतदाता नामावली सङ्कलन शुरु हुने
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक यही चैत २२ गतेदेखि पुनः शुरु गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा गत मङ्सिर ६ गतेदेखि स्थगन गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य चैत २२ गतेदेखि शुरु गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको प्रवक्ता भट्टराईले.बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र नभएमा आयोगको प्रिइन्रोलमेन्ट प्रणालीबाट अनलाइन फारम भरी फोटो खिच्नका लागि प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं उपस्थित हुनुपर्ने छ ।
साथै मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु भएका तथा बसाइँसराइको विवरण अद्यावधिक गर्न समेत अनलाइन आवेदन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्