दैलेखमा असिना पानीले अन्नबाली नष्ट

दैलेख I दैलेखका विभिन्न क्षेत्रमा परेको असिना पानीले किसानको अन्नबाली नष्ट भएको छ ।
दैलेखको नौमुले गाउँपालिका ३ द्धारी, ठाँटिकाँध गाउँपालिका १, २, ४ र ६ लगायत जिल्लाका विभिन्न क्षेत्रमा हिजो (शुक्रवार) साँझ परेको असिना पानीले अन्नबाली नष्ट गरेको हो । यहाँका किसानले लगाएको गहुँवाली तथा फलफूल ९० प्रतिशत सम्म नष्ट भएको ठाँटिकाँध गाउँपालिका ४ का स्थानीय मनोरमा बडुवालले बताउनुभयो । जिल्लाका विभिन्न क्षेत्रमा १ फिटसम्म परेको असिनाले कृषकको ९० प्रतिशत भन्दा बढी अन्नबाली तथा फलफूल नष्ट भएको बडुवालले बताउनुभयो ।

यस्तै असिना पानीबाट नौमुले गाउँपालिका ३ मा सबैभन्दा बढी क्षति भएको वडाध्यक्ष नरबहादुर पुरीले बताउनुभयो । किसानले लगाएको अन्नबाली ९० प्रतिशत भन्दा बढी नष्ट भएको अनुमान गरिएको गाउँपालिकाको कृषि शाखाले बताएको छ । किसानले लगाएको गहुँ, जौ, लगायत तरकारी तथा फलफूलमा बढी क्षति भएको कृषि सेवा शाखाका तुल्सी थापाले बताउनुभयो । क्षतिको एकिन विवरण सङ्कलन गर्न गाउँपालिकाको टोली द्धारीमा रहेको थापाले जानकारी दिनुभयो ।
असिनाले आफूहरूले लगाएको बाली पूर्ण रुपमा नष्ट गरेको नौमुले गाउँपालिका ३ द्धारीका किसान गङ्गाराम सापकोटाले बताउनुभयो । उहाँले पाक्ने बेलामा गहुँ, जौ तथा तरकारी पूरै नष्ट भएको बताउनुभयो । छिनभरमै आँखा अगाडी असिनाले लगाएको बाली नष्ट गरेको अर्का किसान दिपेन्द्र खत्रीले बताउनुभयो । किसानहरूका लागि असिनाले वर्षेनी दुःख दिने गरेको उहाँको भनाई छ । विगतका बर्ष भन्दा यो बर्ष राम्रो वर्षा भएको र उत्पादनमा वृद्धि हुने भएपछि हर्षित भएका किसान एकाएक असिना पानीले अन्नबाली नष्ट गरेपछि कृषकहरू दुखी भएका छन् ।
यता ठाँटिकाँध गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहले असिना पानीबाट भएको क्षतिको विवरण सङ्कलन गरिने बताउनुभयो । अध्यक्ष शाहले मूल्याङ्कन र अनुगमनका लागि गाउँपालिकाले किसानको बारीमै पुगेर अनुगमन गरिरहेको छ । आवश्यकता अनुसार असिना पिडित किसानहरूलाई राहत दिने उहाँले जानकारी दिनुभयो ।
असिना सहितको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको अन्नबालीमा क्षति पुगेको कृषि विकास कार्यालय दैलेखका प्रमुख दशरथ पाण्डेले जानकारी दिनुभयो । प्रभावित किसानहरूको अवस्था बुझ्ने काम भइरहेको र क्षतिको विवरण सङ्कलन गरिने उहाँले बताउनुभयो । मौसम प्रतिकूल भएर किसानले लगाएको बाली क्षति भएकाले वास्तविक अवस्था बुझेर आवश्यक सहयोगका लागि पहल गरिने प्रमुख पाण्डेले जानकारी दिनुभयो । अहिले विभिन्न स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रको जानकारी लिने काम भइरहेको कार्यालय प्रमुख पाण्डेकाले बताउनुभयो । किसानहरूले प्राकृतिक विपद्का कारण कृषिमा बारम्बार क्षति हुने भएकाले राज्यले राहत तथा सहयोग गर्नुपर्ने माग गरेका छन् । लगातार बदलिँदो मौसमका कारण किसानहरू थप चिन्तित बनेका छन् ।








प्रतिक्रिया राख्नुहोस्