तपाईँ सुन्दै हुनुहुन्छः

परम्परागत सीप संकटमा: हराउँदै आरन पेशा

दैलेख। दैलेखका गाउँघरमा एक समय निकै व्यस्त रहने आरन अहिले सुनसान बन्दै गइरहेका छन्। फलाम पिट्ने आवाजसँगै बाँच्ने परम्परागत सीप बिस्तारै हराउँदै जानु स्थानीयका लागि चिन्ताको विषय बनेको छ।

नारायण नगरपालिकाका ६७ वर्षीय हस्तबहादुर सुनारले चार दशकदेखि आरन व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार

‘पहिले गाउँलेहरू बन्चरो, हँसिया, कुटो, कोदालो बनाउन आरनमै निर्भर हुन्थे। त्यसबापत धान, गहुँ, मकैजस्ता अन्न पाएर परिवार पाल्न सजिलो थियो। तर अहिले समय फेरिएको छ,न त पहिले जस्तो माग छ, न त उचित आम्दानी।’

उस्तै पीडा सुनाउनुहुन्छ मनिराम विश्वकर्मा। उहाँका अनुसार ‘फलामका सामग्री बनाउँदा उचित ज्याला पाइँदैन, जसले गर्दा धेरैले यो पेशा छोड्दै गएका छन्। पहिले जिल्लाभरि सयौँको सङ्ख्यामा आरन व्यवसायी भए पनि अहिले ती सङ्ख्या घटेर निकै न्यून भएको छ।’

यससँगै कोइलाको अभाव, आधुनिक औजारको बढ्दो प्रयोग र सरकारी सहयोगको कमीले पनि आरन पेशालाई थप संकटमा पारेको छ। परम्परागत रूपमा पुस्तौँदेखि चल्दै आएको यो सीप अब जोगाउने चुनौती बनेको छ।

स्थानीय रोशन थापाका अनुसार गाउँघरमा प्रयोग हुने परम्परागत औजारहरू नै हराउँदै जाँदा आरन पेशाको अस्तित्व संकटमा परेको हो। उनी भन्छन्, “यसलाई जोगाउन स्थानीय सरकारले पहल गर्न जरुरी छ।”

आरन केवल पेशा मात्र होइन, गाउँको संस्कृति र पहिचान पनि हो। त्यसैले यसलाई संरक्षण गर्न समयमै पहल नभए, भोलिका पुस्ताले यसलाई इतिहासका पानामै मात्र भेट्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button