तपाईँ सुन्दै हुनुहुन्छः

अप्रिल १५ अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषित

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको प्रस्तावमा अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (International Wellness Day) घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले हिजो नेपालको प्रस्तावलाई चीन, भारत लगायत ४० देशले सहप्रस्ताव गरेसँगै अब हरेक वर्ष अप्रिल १५ मा विश्वभर अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ ।

परराष्ट्र मन्त्री बालानन्द शर्माले प्रायः द्वन्द्व, राजनीति र अर्थतन्त्र वरिपरि केन्द्रित बहसहरू भइरहेको वर्तमान समयमा सौम्य शक्ति प्रवर्द्धन र मानवको समग्र आरोग्य एवं कल्याणलाई अन्तर्राष्ट्रिय एजेन्डामा स्थान दिनु अत्यन्त प्रेरणादायी कदम रहेको बताउनुभयो ।

मन्त्री शर्माले यो ऐतिहासिक निर्णयले नेपाललाई आरोग्य र आरोग्य पर्यटनको विश्व केन्द्रका रूपमा विकास गर्ने अभियानलाई थप बल पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

परराष्ट्र मन्त्रालय संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख एवं सहसचिव कृष्ण प्रसाद ढकालले आरोग्य दिवसले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, साँस्कृतिक, भावनात्मक तथा पर्यावरणीय कल्याण हो भन्ने सन्देश विश्वभर फैलाउने मात्र नभइ प्रवर्धन गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

नेपालको पहल र प्रस्तावमा अन्तर्राष्ट्रिय दिवस घोषणा भएको यो पहिलो भएकाले पनि यसको ठूलो महत्व रहेको सहसचिव ढकालले बताउनुभयो ।

जीवन विज्ञानका संस्थापक एल पि भानु शर्मा र रमेश नेपालले लामो समयदेखि नै विश्वभरका मानिसहरूको पूर्ण स्वास्थ्य र समग्र कल्याणका लागि योग, ध्यान र आरोग्यका कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आरोग्यताका विषयमा निरन्तर पैरवी गर्दै आएका आध्यात्मिक संघ–संस्थाहरूलाई आरोग्य दिवस घोषणाले थप ऊर्जा र प्रेरणा प्राप्त हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button