तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा सकियो मतदान, करिब ४४ प्रतिशत मतदान

भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पहाडी जिल्ला भोजपुरमा मतदान सकिएको छ ।

शान्तिपूर्णरुपमा मतदान सकिएपछि मतपेटिकाहरू सदरमुकाम ल्याउने तयारी भई रहेको भोजपुरका प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

भोजपुरमा कुल मतदाता संख्या एक लाख २५ हजार सात सय ६६ जना रहेकोमा करिब ४४ प्रतिशत मतदान भएको छ । 

मतपेटिका जम्मा भइसकेपछि सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना कार्य सुरु गरिने भोजपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश नारायण प्रसाद दाहालले बताउनुभयो । उहाँले शुक्रवार बिहानसम्ममा मतपेटिका आई सक्ने र सोपश्चात् बैठक राखेर मतगणना कार्य सुरु गरिने जानकारी दिनुभयो । 

जिल्लाको ८७ वटा मतदान केन्द्रको दुई अस्थायी सहित एक सय ६१ वटै मतदान केन्द्रमा निर्वाचन भएको थियो । अहिले गणना स्थल भोजपुर नगरपालिकामा मतपेटिकाहरू ल्याउने कार्य सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button