तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा प्रतिनिधिसभा निर्वाचनका लागि उच्च सुरक्षा सतर्कता, संयुक्त गस्ती परिचालन

भोजपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भोजपुर जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।

जिल्ला सुरक्षा समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार निर्वाचनका समयमा कुनै पनि अवाञ्छित घटना हुन नदिन उच्च सुरक्षा व्यवस्था मिलाइएको छ। गृह मन्त्रालयले तय गरेको निर्वाचन सुरक्षा मापदण्डअनुसार जिल्लाका चारवटै सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा मजबुत बनाइएको उहाँले जानकारी दिनुभयो।

भोजपुरका नौ स्थानीय तहमा ८७ वटा मतदान स्थल र सदरमुकाममा दुई अस्थायी सहित १६१ वटा मतदान केन्द्र कायम गरिएको छ । ती सबैको सुरक्षाका लागि रणनीतिक योजना अनुसार सुरक्षा निकायले काम गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन सुरक्षामा कुनै त्रुटि नहुने गरी तयारी भइरहेको छ, जनताको मताधिकार हनन हुने गरी कुनै गतिविधि भए तत्काल कानुनी दायरामा ल्याउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।” 

जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुने छन् । अहिले जिल्लाको विभिन्न क्षेत्रहरूमा निर्वाचन केन्द्रित नेपाली सेना, प्रहरी, सशस्त्र लगायतको संयुक्त गस्ती टोली समेत परिचालन गरिएको छ । 

निर्वाचनका लागि अहिले जिल्ला निर्वाचन कार्यालयसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि आफ्नो तयारी गरिरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले बताउनुभयो । निर्वाचन कार्यालयले आगामी फागुन १७ गतेसम्मका लागि भोजपुरमा ८१ जना मतदाता शिक्षा स्वयंसेवक र ९ जना अनुगमनकर्ता समेत परिचालन गरी सकेको छ । 

भोजपुरमा १२ दलका १२ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लाको कुल मतदाता सङ्ख्या भने एक लाख २५ हजार सात सय ६६ जना रहेका छन् जसमा एक अन्य सहित ६५ हजार सात सय ८८ पुरुष र ५९ हजार नौ सय ७७ जना महिला छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button