तपाईँ सुन्दै हुनुहुन्छः

१२ दल, १२ उम्मेदवार: भोजपुरमा महिला सहभागिता शून्य

भोजपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोजपुर जिल्लामा १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

तर ती सबै उम्मेदवार पुरुष मात्र रहेका छन्, जसले महिला उम्मेदवारलाई उपेक्षा गरिएको देखाएको छ।

पहाडी जिल्ला भोजपुरबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका त्यति नै सङ्ख्याका उम्मेदवारले मनोनयन दर्ता गराए तर त्यसमा महिलाको सङ्ख्या शून्य देखिएको जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख डिकेन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो । ३३ प्रतिशत महिला सहभागिताको कुरा समय समयमा उठाउने गरिए पनि मुख्य दलबाट नै महिला उम्मेदवार नपरेका हुन । 

आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलहरूले मनोनयन दर्ता गराएका छन् । यसरी उम्मेदवारमा मनोनयन दर्ता गराएकाहरू सबै पुरुष मात्र छन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा राजाराम बासी नेपाल मजदुर किसान पार्टी, ध्रुव राई श्रम संस्कृति पार्टी, शेरधन राई नेकपा (एमाले), जितेन्द्र राई राष्ट्रिय परिवर्तन पार्टी, जनक नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी, रमेश प्रसाद ओझा राष्ट्रिय स्वतन्त्र पार्टी र चन्द्र प्रसाद राई मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराउनु भएको छ । 

यस्तै नेपाली कम्युनिस्ट पार्टीका अजम्वर राई काङमाङ, नेपाली काँग्रेसका बालकृष्ण थापा, नेकपा (माओवादी) का देवान राज राई, जनता समाजवादी पार्टीका गोपाल कुमार राई र आम जनता पार्टीका तर्फबाट युवराज थापाले मनोनयन दर्ता गराउनु भएको छ । 

भोजपुरमा कुल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम छ भने ८७ वटा मतदान स्थल र अस्थायी सहित एक सय ६१ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button