तपाईँ सुन्दै हुनुहुन्छः

लामो समयदेखि अवरुद्ध सडक सञ्चालनमा चासो नदिएको भन्दै वडाध्यक्षद्वारा कार्यालय बन्द 

रुकुम पूर्व । रोल्पा जिल्लाको थबाङ गाउँपालिका–२ का वडाअध्यक्ष अभिलाषा रोका मगरले वडा कार्यालय बन्द गर्दै साँचो गाउँपालिकालाई बुझाउनुभएको छ ।

वडाध्यक्ष रोका मगरका अनुसार गाउँपालिकाअन्तर्गत पर्ने ग्रामीण सडक लामो समयदेखि अवरुद्ध हुँदा पनि सञ्चालनमा नआउनु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा निरन्तर ढिलासुस्ती हुनु लगायतका विकास निर्माणका काममा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका कार्यालयले कुनै चासो नदेखाएको कारण यस्तो कदम चाल्नुपरेको हो ।

उहाँले जनताको माग र समस्या बेवास्ता गरिएको भन्दै भोलि कार्तिक १३ गतेदेखि वडा कार्यालय बन्द गरी साँचो गाउँपालिकालाई बुझाउने र ती मागहरू तत्काल पूरा नभए वडाध्यक्ष पदबाट राजीनामा दिने चेतावनी दिनुभएको छ ।

लामो समयदेखि स्थानीय जनतालाई दैनिक सेवा, आवतजावत र विद्युतीय सुविधामा समस्या परे पनि गाउँपालिकाले कुनै पहल नगरेपछि आफू यस्तो कदम चाल्न बाध्य हुनुपरेको उहाँको भनाइ छ । 

यस विषयमा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button