तपाईँ सुन्दै हुनुहुन्छः

हैजा विरुद्ध प्रतिकार्य खोप अभियान

बारा । हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियानको थालनी आजबाट बाराको सदरमुकाम कलैयामा रहेको  प्रादेशिक अस्पताल कलैयाबाट शुरु भएको छ । 

जिल्ला स्वास्थ्य कार्यलयद्धारा आयोजित  खोप अभियानको  जिल्ला समन्वय समितका बारा सभापति नरेन्द्र साहले पहिलो खोप खाई शुभारम्भ गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति साहले अभियानबाट रोग फैलिन नियन्त्रण गर्नुका साथै रोगबाट बच्नमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

अभियान अन्तर्गत कार्तिक २ गतेसम्म प्रभावित ६ वटा पालिकाका विभिन्न केन्द्र बनाएर हैजा विरुद्धको (थोपा) खोपा खुवाउने कार्यक्रम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामनरेश प्रसाद यादवले जानकारी दिनुभयो । 

एक वर्ष माथिका सबैले हैजा विरुद्धको खोप खानुपर्ने बताउँदै उहाँले यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने बताउनुभयो । जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा आज देखि  कार्तिक २ गतेसम्म अभियानको रूपमा खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।

खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिएको प्रमुख यादवले जानकारी दिनुभयो । खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ उहाँले भन्नुभयो ।  

सोमवार बिहान साढे १० बजे देखि प्रादेशिक अस्पताल कलैयाबाट शुरु भएको अभियानमा  ६ वटा पालिकाहरूमा कुल ३ लाख ६५ हजार ९ सय ३१ जनालाई ईयुभिकोल एस नामक खोप लगाइने  जनस्वास्थ्य प्रमुख प्रमुख यादवले जानकारी दिनुभयो  । अभियानमा जिल्लाको ६ वटा पालिकाको ७५ वटा वडा, २ सय १० खोप कार्यकर्ता, ३ सय ७९ महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ७९ स्वयम सेवक खटाउने प्रमुख यादवले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button