तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट ३ महिनामा ४ जनाको ज्यान गयो, स्थानीय त्रसित 

बारा । बाघको आक्रमणबाट बारामा ३ महिनाको अवधिमा ४ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

केही दिनअघि बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय छेवाङ्ग लामाको मृत्यु भएसँगै बाघको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४ जना पुगेको हो ।

यस अघि बाघको आक्रमणबाट जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा,  सोही वडाकै रमेश कार्की र  मकवानपुर मनहरी गाउँपालिका निवासी अन्दाजी ५५ वर्षीय चन्द्रबहादुर ब्लोनको मृत्यु भएको रहेको प्रहरी उपरिक्षक सन्तोष तामाङले जनाकारी दिनुभयो ।  

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ निवासी ५५ वर्षीय छेवाङ्ग लामालाई बाघले आक्रमण गरेर ज्यान लिएको थियो  ।

लामा आइतबार बिहान करिब ७ बजे च्याउ टिप्न जङ्गलतर्फ जाने क्रममा उनलाई प्रगतिशील सामुदायिक वनभित्र बाघले आक्रमण गरेको स्थानीयहरूले बताएका छन् । घाँस काट्न गएका अन्य स्थानीयहरूले घटनास्थलमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

बारा जिल्लामा यसअघि पनि अम्लेखगञ्ज क्षेत्रका तीन स्थानीयको ज्यान बाघको आक्रमणमै गइसकेको प्रहरीले जनाएको छ। बाघलाई नियन्त्रणमा लिन चितवनबाट डार्ट टोली परिचालन गरिएको बन अधिकृत झाले बताउनुभयो । दुई वटा हात्ती सौराहाबाट बाघको खोजीकोलागि आएको पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाघलाई डार्ट गर्नको लागि पशु चिकित्सक सहितको टोली जङ्गल क्षेत्रमा परिचालन गरिसकिएको पर्सा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो । 

करिब १० बर्ष देखि जङ्गली जनावरको उद्धारकोलागि उद्धार टोलीको माग आएपनि मधेश प्रदेशको कुनै ठाउँमा पनि जङ्गली जनावर उद्धार टोली रहेको पाईदैन् । उद्धार टोलीको लागि आफु लगायत जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिले पनि यस क्षेत्रमा उद्धार टोलीको माग गरिएपनि अहिलेसम्म सुनुवाई नभएको वरिष्ठ संरक्षण अधिकृत खतिवडाले बताउनुभयो  ।

यसअघि गत भदौ ११ गते आधाभार क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । यस्तै गत असार ४ गते बाराको अमलेखगन्जस्थित चकरी जङ्गलमा बाघले खाएको जस्तो अवस्थामा एक जनाको शव फेला परेको थियो  । 

यसरी बाघको आक्रमणबाट टोलीको लागि  ज्यान लिने गरेपछि त्यस क्षेत्रमा त्रासको वातावरण  छाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button