तपाईँ सुन्दै हुनुहुन्छः

कैलाली कारागार घटना छानविन समितिको प्रतिवेदनपछि कारबाही : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कैलाली कारागारमा दुई पक्षबीच झडप हुँदा एकजना कैदीबन्दीको निधन भएको घटनामा छानविन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारबाही गरी पीडितलाई उचित न्याय दिइने बताउनुभएको छ । 

प्रतिनिधिसभाको कानून न्याय तथा संसदीय मामिला समितिको आजको बैठकमा  गृह मन्त्री रमेश लेखकले सरकारले कारागारभित्र कैदी बन्दीका नाइके छनौट गर्ने कानूनलाई संशोधन गरी प्रहरी प्रशासनलाई नै त्यसको जिम्मा दिन लागेको जानकारी गराउनुभयो । 

मुलुकभर रहेका कारागारमा १६ हजार कैदीबन्दी राख्न सकिने भए पनि हाल करिब २९ हजार कैदी बन्दीलाई व्यवस्थापन गर्नुपरेको भन्दै गृहमन्त्री लेखकले सरकारले खुला कारागारको नीति लिएको बताउनुभयो । 

बैठकमा सांसदहरु महेशप्रसाद बर्तौला, रन्जुकुमारी झा, प्रतीक्षा तिवारी शेरबहादुर कुँवर, सोविता गौतम, सुहाङ नेम्वाङलगायतका सांसदहरुले अपराधअनुसार कैदीबन्दीहरुलाई छुट्टाछुट्टै राखिनुपर्ने, पेरोलमार्फत् कैदीलाई कारागारबाहिर ल्याउनुपर्ने र ज्येष्ठ नागरिकलाई माफी दिनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले अपराधमा संलग्नलाई रेखदेख र सुरक्षा गर्न बनाइएको कारागारभित्र दुई पक्षबीच झडप भई हत्यासमेत हुनुले जेलरसँग आपराधिक समूहको  साँठगाँठ रहेको हुन सक्ने भन्दै सरकारले देशैभरका कारागारको सुरक्षा व्यवस्था उच्च बनाउनुपर्ने बताउनुभयो । 

गत साउन २३ गते कैलाली कारागारभित्र कैदीबन्दीको नाइके छान्नेक्रममा दुई समूहबीच झडप हुँदा कैलालीकै कैदीबन्दी भरत चौधरीको निधन भएको थियो । 

सरकारले उक्त घटनाको छानविन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक छानविन समिति गठन गरेको छ । गृहमन्त्रालयका अनुसार देशभरका ७७ कारागारमा २८ हजारभन्दा बढी कैदीबन्दी रहेको र तीमध्ये ६६ जना ज्येष्ठ नागरिक र ६४ जना  आश्रित बालबालिका रहेका छन् । 

त्यसैगरी विभिन्न कारागारमा एक  हजार ५ सय ५० जना महिला कैदीमन्त्री रहेका छन् । कारागारमा रहेका सात हजार कैदीबन्दीलाई सरकारले विभिन्न रोजगारीको व्यवस्था गरेको गृहमन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button