४ अरब २ करोड ५६ लाख ६० हजारको गहुँ उत्पादन
बारा । बारामा कृषकहरूले यस बर्ष गहुँ खेतीगरि ४ अरब बराबरको कुल ९३ हजार ६ सय २० मेट्रिकटन गहुँ उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख राजनारायण साहले जानकारी दिनु भएको छ ।
कृषकहरूले एनएल ९७१, विजय गौतम, भृकुटी जातको गहुँ कुल ३० हजार २ सय हेक्टर क्षेत्रफलमा खेती गरि प्रति हेक्टर ३ दशमलव १ मेट्रिकटनको दरले ४ अरब २ करोड ५६ लाख ६० हजार बराबरको गहुँ उत्पादन गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख साहले भन्नुभयो ।

सिँचाईका लागि जिल्लाका किसानहरुले ५० प्रतिशत सहुलियतमा टियुवल, बोरिङ लगायतका सिचाई व्यवस्थापन गरिएको हुँदा यस बर्ष गहुँ उत्पादनमा १ प्रतिशतले वृद्धि हुनुको साथै क्षेत्रफलमा समेत वृद्धि भएको ज्ञानकेन्द्रका अर्थ विज्ञ गणेश महराले बताउनुभयो ।
उत्पादित गहुँ कलैया बजारमा प्रति क्विन्टल ४ हजार ३ सय को दरले बिक्री भइरहेको ज्ञानकेन्द्रका अर्थ विज्ञ महराले बताउनु भयो । गतबर्ष कृषकहरूले विभिन्न जातको गहुँ ३० हजार हेक्टर क्षेत्रफलमा खेती गरी प्रति हेक्टर ३ दशमलव मेट्रिकटनले कुल ९० हजार मेट्रिकटन गहुँ उत्पादन भएको ज्ञानकेन्द्रले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्