मासिँदै सिमसार

सल्यान । सल्यानमा रहेका सिमसार क्षेत्र मासिन जान थालेका छन् । सिमसार क्षेत्र अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले सिमसार क्षेत्र सुख्खा र उजाड बन्न सघाएका छन् । सिमसार क्षेत्र मासिन थालेसँगै सिमसारमै निर्भर रहेका चराचुरुङ्गी, जलचर र वनस्पति हराउन थालेका छन् ।
जिल्लाका मुख्य सिमसार क्षेत्रमा कुपिण्डे ताल, कछुवा दह, शारदा नदी, बनगाड खोला, मर्म खोलालगायतका दर्जनौँ खोलानाला रहेका छन् । यससँगै ग्रामीण भेगमा धानखेती हुने सिमेनखेत पनि सिमसारमै पर्छ । डिभिजन वन कार्यालय सल्यानले संरक्षणको अभावका कारण सिमसार क्षेत्र मासिन थालेको जनाएको छ । सिमसार क्षेत्रमाथि प्रहार हुँदा चराचुरुङ्गी, जलचर र वनस्पति लोप हुने जोखिम बढेको छ ।
डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख टेकबहादुर रावलले बढ्दो शहरीकरण, यातायात, अव्यवस्थित विकास निर्माणले सिमसार क्षेत्र व्यवस्थापनमा धेरै चुनौती थपिएको बताउनुभयो । सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको माध्यम, स्थानीय तहको अर्थतन्त्र आत्मनिर्भर हुने उहाँको भनाइ छ ।
पूर्णरुपमा पानीले भिजेको क्षेत्र, प्राकृतिक रूपले बनेको तथा कृत्रिम रूपले बनाइएको, स्थायी वा अस्थायी रूपले जमेको पानी, जमिनमुनिको पानी वा वर्षाले जमेको वा बगेको पानीको क्षेत्रलाई सिमसारका रुपमा लिइने डिभिजन प्रमुख रावलको भनाइ छ । ‘
सिमसार क्षेत्रको संरक्षण एवं प्रवद्र्धन गर्न वृक्षारोपण, रिचार्ज पोखरी निर्माण गर्दै आइरहेको कार्यालयले जनाएको छ । परम्परागतरुपमा गाउँघरमा पोखरी, दह, कुवा आदिको संरक्षण गर्ने प्रचलन प्राचीन समयदेखि रहँदै आएको छ । रावलले भौतिक विकासको तीव्र माग र अदूरदर्शी योजना कार्यान्वयनले पोखरी, दह, खोला, कुवाको महत्व घट्दै, पुरिँदै, सुक्दै र अन्य उपयोगमा जाँदै मासिँदै गएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्