तपाईँ सुन्दै हुनुहुन्छः

तयार भयो सगरमाथा आरोहण मार्ग

सोलुखुम्बु । सर्वोच्च शिखर सगरमाथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहणका लागि बाटो निर्माणको काम सम्पन्न भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेकाको आयोजनामा छ जना आइसफल डाक्टर सहित नौ जनाको टोलीले सगरमाथा आधार शिविरबाट निर्माण सुरु गरेको आरोहणको बाटो सम्पन्न गरेको हो ।

‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु भएपछि आइसफल डाक्टरको टोलीले चैतको दोस्रो साताबाट बाटो निर्माण थालेका थिए । हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा, आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाको नेतृत्वमा गएको टोलीले निर्माण सम्पन्न गरेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसि) नाम्चकी सूचना अधिकारी याङ्जीडोमा शेर्पाले जानकारी दिनुभयो । 

सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ । हरेक बर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै नयाँ बाटो निर्माण गर्ने गरिन्छ । आइसफल डाक्टरहरूले आल्मुनियमका भर्‍याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् । 

चुनौतीपूर्ण मौसमको बाबजुद १८ घण्टा खटेर टोलीले २२०० मिटर डोरी राखेपछि २०२५ को सगरमाथा सिजन अब आधिकारिक रूपमा खुलेको समितिले जनाएको छ । खुम्बु आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । 

पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार ४०० मिटर उचाइको क्याम्प दुईसम्म दर्जनौँ सानाठूला हिमखाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नुपर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकहरूले आरोहणकै समयमा गर्छन् । 

आधार शिविरमा पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्मअनुसार लामाबाट पुजापाठ गरी बाटो निर्माणको साइत गरिएको थियो । बाटो निर्माणका लागि एक हप्तासम्म आधार शिविरमै आवश्यक तयारी गरिन्छ । हिमाल आरोहण गर्ने बाटो हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । 

हिमपहिरो गएमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्दछ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि प्रयोग गरिने आधार शिविर एउटै हो । आधार शिविरबाट क्याम्प दुई सम्म तीन वटै हिमालको आरोहणका लागि बाटो पनि एउटै प्रयोग हुँदै आएको छ । 

बाटो खुलाउने जिम्मेवारी लिएको एसपीसीसीले बाटो खुलाएर अनुमति दिएपछि मात्रै आरोही तथा आरोहण व्यवसायीहरू दोस्रो शिविरसम्म जान पाउँछन् । आरोहणका लागि शरीरलाई अनुकूल बनाउन आरोही आधार शिविरबाट दोस्रो शिविरसम्म जाने र फर्कने गर्ने भएकाले दोस्रो शिविरमा चाँडै क्याम्प खडा गर्ने काम हुन्छ ।

यसैबिच हिम पहिरोबाट कुनै पनि क्षति नभएको एसपिसिसिले स्पष्ट पारेको छ । केही अनलाइन समाचारहरूमा प्रसारित समाचार भएको भन्दै हिमपहिरोले आरोहण मार्गमा टोलीले राखेका भर्‍याङ र डोरीहरू लगायत कुनै पनि उपकरणलाई असर नगरेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button