कविता मार्फत् लोकतन्त्र विरोधी प्रवृत्तिको भण्डाफोर
बुटवल । पछिल्लो केही दिन यता प्रतिगामी तत्त्वहरू सलबलाउन खोजेको भन्दै रुपन्देहीका प्रगतिशील लेखक तथा साहित्यकारहरूले सडकमा उभिएर प्रतिगामी चिन्तनका विरुद्धमा कविता बाचन गरेका छन् ।
तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा आयोजित एक कार्यक्रमका बीच साहित्यकार तथा सर्जकहरूले कविता, गजल, मुक्तक, गीत तथा लघुकथा मार्फत लोकतन्त्र विरोधी प्रवृत्तिहरूको भण्डाफोर गरेका हुन ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष डा. मुरारी पराजुलीले इतिहासमा पछाडि फर्कने प्रयास सधैँ असफल हुने भन्दै साहित्यकारहरूले लोकतान्त्रिक चेतना उजागर गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा प्रगतिशील लेखक सङ्घ, रुपन्देहीका अध्यक्ष कृष्ण गाउँलेले जनताले सङ्घर्ष गरेर उखेलिसकेको व्यवस्थाको पुनरागमन सम्भव नभएको भन्दै निरन्तर साहित्यिक तथा सचेतना अभियान आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा कविता वाचन गर्नुहुँदै नेपाली लेखक सङ्घ, रुपन्देहीका अध्यक्ष लिलाधर पाण्डेले साहित्य सिर्जनात्मक प्रतिरोधको बलियो माध्यम भएकाले यसलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सृजनशील साहित्यिक समाज ‘सिसास’का पूर्व अध्यक्ष तथा कवि नारायण प्रसाद भण्डारीले लामो समयको सङ्घर्ष र बलिदानीले मुलुकमा राजतन्त्रको अन्त्य भएको र केही व्यक्तिले राजतन्त्र ल्याउने अभिव्यक्ति दिए पनि अब देशमा राजतन्त्र ल्याउन सम्भव नभएको बताउनुभयो ।
सो अवसरमा आफ्नो कविता वाचन गर्नुहुँदै प्रगतिशील लेखक संघ रुपन्देहीका उपाध्यक्ष तथा अधिवक्ता ज्ञानु केसीले दुई चार जना व्यक्तिले चाहँदैमा जनताले लडेर ल्याएको व्यवस्था परिवर्तन हुन नसक्ने ठोकुवा गर्नुभयो ।
सो कार्यक्रममा कविहरूले कविता मार्फत लोकतान्त्रिक चेतना प्रवद्र्धन गर्दै राजतन्त्र पुनःस्थापना गर्ने षड्यन्त्रको भण्डाफोर गर्न तथा सामाजिक न्यायको पक्षपोषण र जनताको अधिकारको संरक्षण गर्न आग्रह गर्नुभएको थियो ।
कवितामा नेपाली जनताले इतिहासमा गरेको बलिदान र सङ्घर्षको स्मरण गराइनुका साथै समाजमा व्याप्त पछौटेपन, अन्याय, उत्पीडन तथा लोकतन्त्रलाई उल्टाउने प्रयासको विरोध गरिएको थियो ।
‘चिहानबाट जागेर को सक्छ फेरी आउन,
प्रतिगमनकारी त्यो कसरी सक्छ ब्युँतन !’
भन्ने नारासहित आयोजित कार्यक्रममा कवि डा. मुरारि पराजुली, डा. हरिप्रसाद भण्डारी, रुद्र ज्ञवाली, कविराज पौडेल, लिलाधर पाण्डे, सीता ढुङ्गाना काफ्ले, सुवास रिजाल, ज्ञानु के.सी., हरिप्रसाद पौडेल, नारायण प्रसाद भण्डारी, सागर के.सी., मुकुन्द भट्टराई, केशव बेलबासे, खेम बहादुर गुरुङ, उद्धव देवकोटा, यदु लामिछाने, तिलक लामिछाने, दुर्गा थापा मगर, कमला भण्डारी लगायत दुई दर्जन भन्दा बढी साहित्यकारहरूले आफ्ना सशक्त रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।
यस खाले कार्यक्रम देशव्यापी रुपमा निरन्तर गरिने आयोजकको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्