डोल्पामा हिमपात र पानी : लामो समयपछिकाे हिमपातले कृषकहरूमा खुशीयाली

डोल्पा । डोल्पा लगायत हिमाली जिल्लामा बिहीवारदेखि हिमपातसँगै पानी परिरहेको छ। लामो समयपछि हिमपात र पानी परेपछि डोल्पाका कृषक र बासिन्दाहरूमा खुशीको लहर छाएको छ।
हिउँसँगै पानी लगातार परिरहेकाे चिसो बढेसँगै यो मौसम डोल्पामा मुख्य आम्दानीको स्रोत मानिने यार्चागुम्बु उत्पादनमा फाइदाजनक देखिएको छ। यार्चागुम्बु र अन्य बहुमुल्य जडिबुटीहरूको उत्पादनले डोल्पाको अर्थतन्त्रमा महत्वपूर्ण स्थान ओगटेको छ।
हिमपातले कृषक र माटोलाई ठूलो फाइदा पुर्याउने विश्वास गरिएको छ। माटोलाई आवश्यक चिस्यान कायम राख्दै उर्वराशक्ति बढाउँछ र हिउँ पग्लिएपछि माटोमा नाइट्रोजन मिसिनाले बालीलाई आवश्यक पोषण दिन मद्दत पुर्याउँछ। यसले रोग र कीरा नियन्त्रणमा पनि सहयोग पुर्याइरहेको छ। साथै, यसले भूसंरक्षणमा पनि योगदान पुर्याउँछ।
हिमपात र पानीले नदी, इनार, पोखरी, र खेतियोग्य जग्गामा पानीको मात्रा बढाउँछ, जसले सिंचाइका लागि पर्याप्त पानी उपलब्ध गराउँछ। कृषकहरूको विश्वास छ कि डोल्पामा पानी र हिउँ परेपछि स्याउ, ओखर र गहुँ, जौ, तोरी लगायतका बालीहरू र फलफूल खेतीमा राम्रो उत्पादन हुनेछ।
कृषकहरूको अनुसार हिमपात प्राकृतिक वरदान हो, जसले माटो उर्वर बनाउन, कीरा नियन्त्रण गर्न, जल स्रोत बढाउन र बालीको उत्पादन सुधार गर्न ठूलो योगदान पुर्याउछ।
प्रतिक्रिया राख्नुहोस्