तपाईँ सुन्दै हुनुहुन्छः

बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक समयमै सम्पन्न हुन्छ: अर्थमन्त्री पौडेल

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल– चन्द्रौटा –गोरुसिङ्गे सडक समयमै सम्पन्न हुने बताउनुभएको छ ।

 शुक्रवार बुटवलस्थित सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ र बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक योजनाको उद्घाटनका क्रममा मन्त्री पौडेलले सो सडक समयमै निर्माण सम्पन्न गरिने बताउनुभएको हो ।

सो अवसरमा मन्त्री पौडेलले द्रुत गतिमा काम भएका कारण एक वर्ष नपुग्दै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएको बताउँदै बुटवल–चन्द्रौटा–गोरुसिङ्गे सडक स्तरोन्नतिको कार्य पनि द्रुत गतिमा गरिने र सडक निर्माण गर्दा स्थानीयले धुलो र धुवाँको सामना गर्नु नपर्ने स्पष्ट पार्नुभयो ।

बुटवल–नारायणघाट सडक बिस्तारका क्रममा चरम लापरवाही र ढिलासुस्ती भएको भन्दै मन्त्री पौडेलले सन् २०२६ को डिसेम्बर भित्र उक्त सडक पनि निर्माण सम्पन्न हुने ठोकुवा गर्नुभयो । उहाँले भन्नुभयो, ‘बुटवल–नारायणघाट सडकको निकै आलोचना भएको छ । जनताले गरेको आलोचनाको हामी सम्मान गर्छौँ । अब त्यो सडक निर्माण सम्पन्न हुन धेरै लामो समय लाग्ने छैन । जनताले सडककै कारण सास्ती भोग्नुपर्ने छैन ।’

सरकार बिकास निर्माणमा प्रतिबद्ध रहेको भन्दै मन्त्री पौडेलले बुटवलको तिनाहुँ खोलामा ‘सिग्नेचर ब्रिज’ समेत निर्माणका लागि काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँले ‘ब्रिज’का लागि बजेटको प्रबन्ध भइसकेका कारण सबै काममा ढिलासुस्ती नगर्न निर्माण व्यवसायीलाई आग्रह समेत गर्नु भयो ।

सरकारले गरेका राम्रा कामको समर्थन गर्न सबैमा आग्रह गर्नु हुँदै मन्त्री पौडेलले भन्नुभयो, ‘समर्थनमा कसैले लेख्न सक्दैन भने विरोधमा लेख्न बन्द गरौँ । कमी कमजोरी भए औँल्याऊँ तर राम्रा कामलाई पनि नोटिसमा लिन सकौँ ।’ 

उद्घाटन समारोहमा बोल्नुहुँदै उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व नभएसम्म जतिसुकै राम्रो योजना, परियोजना भएपनि समयमा सम्पन्न हुन नसक्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘राजनीतिक अस्थिरताका कारण काममा व्यवधानहरू आउने भएको कारणले हामीले राष्ट्रिय राजनीतिको आवश्यकता अनुसार संघीय संसद्का दुई ठुला दल र अन्य साना दलहरू मिलेर यो संयुक्त सरकार बनाएका हौँ ।’

बुटवल–चन्द्रौटा–गोरुसिङ्गे अन्तर्गतको ५० किलोमिटर सडक निर्माण कार्य केही दिनमै सुरु गरिने आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिनु भयो । सुरुमा सडक अन्तर्गतका पुल निर्माण गरिने र सडक छेउछाउ फराकिलो बनाई पिच भत्काइने उहाँको भनाई छ । सडक निर्माण गर्दा जनताले सास्ती बेहोर्नु नपर्ने र धुलो धुवाको सामना गर्नु नपर्ने उहाँले बताउनुभयो । 

सडक बिस्तार हुने भएपछि बुटवल र चन्द्रौटाका स्थानीय उत्साहित भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button