तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा क्षेत्रका तालहरूमा ५३ प्रजातिका जलपन्क्षी, फेवातालमा ५२ प्रजातिका जलपन्क्षी

पोखरा । पर्यटकीय नगरी पोखराका तालहरूमा ५३ प्रजातिका जलपन्क्षी भेटिएका छन् । तालैतालको शहरका रुपमा परिचित तथा रामसार सूचिमा सूचिकृत पोखराका नौवटा तालमा गरिएको जलपंछी गणनाबाट ५३ प्रजातिका जलपन्क्षी भेटिएको पोखरा पक्षी समाजका अध्यक्ष एवम् क्षेत्रीय संयोजक मनशान्त घिमिरेले बताउनु भयो ।

टाइगर माउण्टेन पोखरा लज र पोखरा पन्क्षी समाजको अगुवाइमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र २३ गते विभिन्न १२ वटा टोलीमा विभाजित भई गरिएको गणनाबाट ५३ प्रजाति अभिलेख गरिएको उहाँले दाबी गर्नु भयो ।

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराहरूको वितरण, तिनीहरूको अवस्थाको जानकारी लिन, सङ्ख्याको अध्यावधिक, संरक्षणमा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई सचेतना अभिवृद्धि गर्दै संरक्षणमा हातेमालोका लागि सन् २००४ बाट पोखरा उपत्यकामा जलपंछी गणना गरिँदै आइएको अध्यक्ष घिमिरेले जनाउनु भयो ।

पोखरा उपत्यका भित्रका फेवा, बेगनास, रूपा, मैदी, दिपाङ, गुंदे, खास्टे, न्यूरेनी ताल र कमल पोखरी तथा विजयपुर खोला करिडोरमा जलपंछी गणना गरिएको थियो । गणनाका क्रममा फेवातालमा ५२ प्रजातिका दुई हजार १२ जलपंछी फेला परेका छन् । त्यस्तै बेगानास तालमा १४ प्रजातिका १५८, रुपा तालमा २६ प्रजातिका ३६४, गुँदे तालमा १३ प्रजातिका ३०१, खास्टे र न्युरेनी तालमा १६ प्रजातिका १८९, दिपाङमा १३ प्रजातिका २१७, मैदीमा १० प्रजातिका १२१, कमल पोखरीमा पाँच प्रजातिका १४ र विजयपुर खोलामा १० प्रजातिका ४३ सङ्ख्यामा जलपंछी भेटिएका समाजले जनाएको छ ।

गणनाका क्रममा फेवा र दिपांग तालमा चराहरूको सङ्ख्या यस अघिकोमा केही वृद्धि भएको भने रुपा र मैदीमा बराबर तथा अन्यमा घट्दो अवस्थामा रहेको अध्यक्ष घिमिरेले जनाउनु भयो । पछिल्लो समयमा सिमसार संकुचित हुँदै जानु, मानवीय गतिविधिहरू बढ्नु, अवैध चोरी शिकार, ध्वनि प्रदूषण, वासस्थानको व्यापक विनाश, पन्छी संरक्षणमा सचेतनाको कमी लगायतका कारणले केही तालमा थोरै बढेता पनि अन्यमा अघिल्लो वर्षको तुलनामा धेरै घटेको उहाँले बताउनु भयो ।

सन् १९८७ देखि नेपालमा नियमित रुपमा हुँदै आएको एशियाली जलपन्क्षी गणनाले देशको जैविक विविधता संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको टाइगर माउन्टेन पोखरा लजका चरा विज्ञ एवम् क्षेत्रीय संयोजक झलक चौधरीले बताउनु भयो ।

जलपंछी गणनाको मुख्य उद्देश्य पानीमा आश्रित बसाई सराई गर्ने र पानीमा र यस वरिपरि बस्ने चराहरूको सङ्ख्या र वितरणको बारेमा जानकारी संकलन गर्नु रहेको छ । यसबाट सिमसार क्षेत्रको अवस्था, जलपंछीको प्रजनन अवस्था र जलवायु परिवर्तनको असरबारे जानकारी पाइने समाजले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button