तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका पहाडी जिल्ला कफी हबमा विकास गर्ने पहल सुरु

बाँके । लुम्बिनी प्रदेश सरकारले पहाडी जिल्लाहरूलाई कफी हबका रूपमा विकास गर्न ठोस पहल सुरु गरेको छ। प्रदेशका पहाडी जिल्लाहरूमा कफी खेतीको प्रचुर सम्भावना रहेको निष्कर्षसहित बुधबार प्युठानको सरुमारानी गाउँपालिका बडडाँडामा रहेको चिया तथा कफी विकास कार्यालयमा स्थानीय जनप्रतिनिधि, किसान र सरोकारवालाबीच विशेष छलफल भएको हो।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको नेतृत्वमा सम्पन्न छलफलमा मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मा, उपाध्यक्ष बसन्ता खड्का, कफी विकास बोर्डका प्रमुख चन्द्रप्रकाश बस्नेत र स्थानीय किसानहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कृषिमन्त्री पन्थीले पहाडी जिल्लामा कफी खेती विस्तार गरेर कफी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले दीर्घकालीन योजना बनाउन लागेको जानकारी दिनुभयो।“पहाडी जिल्लामा कफी खेतीको उच्च सम्भावना छ। हामी यसलाई व्यवस्थित रूपमा विस्तार गरी किसानलाई आत्मनिर्भर बनाउनेछौँ,” पन्थीले भन्नुभयो।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा। रामबहादुर राउतले प्युठानस्थित कफी विकास कार्यालयले तीन प्रदेशलाई समेटेर काम गर्दै आएको र कफी खेतीलाई लुम्बिनी प्रदेशमा थप व्यापक बनाउने योजनामा सरकार सकारात्मक रहेको बताउनुभयो। “कफी खेतीलाई प्रदेशका विभिन्न जिल्लामा फैलाउने प्रयासमा यो छलफल महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

स्थानीय किसान र जनप्रतिनिधिहरूले कफी खेतीको सम्भावना पहिचान गरेर राज्यले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएमा यो क्षेत्रलाई कफी हबको रूपमा स्थापित गर्न सकिने धारणा राखेका छन् । किसानहरूले कफी खेतीबाट राम्रो आम्दानी लिन सकिने र अन्तर्राष्ट्रिय बजारमा यसको माग राम्रो भएको भन्दै यसमा थप लगानी र प्रोत्साहनको माग गरे।

प्रदेश सरकारले यो पहललाई दीर्घकालीन योजनाको रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। कफी उत्पादनको माध्यमबाट आर्थिक रूपमा किसानलाई सबल बनाउँदै प्रदेशको पहाडी क्षेत्रलाई विकास गर्ने लक्ष्य सरकारको रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button