तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा आम्दानीको मुख्य स्रोत बन्दै सुन्तला 

सल्यान । परम्परागत रुपमा मकै, धान खेती गर्दै आउनुभएका छत्रेश्वरी गाउँपालिका–२ दहखोलाका मानसिंह केसीले अहिले सुन्तला खेतीमा रमाइरहनुभएको । 

मिहिनेत गरेअनुसार परम्परागत खेतीबाट उत्पादन नहुने र उत्पादन भएको उपजले तीन महिना पनि मुस्किलले पुग्ने गर्दथ्यो । विगत ७ वर्षदेखि झन्डै ४ रोपनीमा सुन्तला खेती थाल्नुभएका वलीले अहिले वार्षिक ३ देखि ४ लाखसम्म आम्दानी गर्दै आइरहनुभएको छ । 

उहाँले भन्नुभयो “तीन रोपनी ६ आना जमिनमा धान खेती गथ्र्ये । १० देखि २ मुरीसम्म मुस्किलले धान उत्पादन हुन्थ्यो । तर सुन्तला लगाएर उत्पादन हुन थालेपछि त्यही जमिनमा मात्रै गत वर्ष ३ लाख ७५ बजारको सुन्तला उत्पादन भयो ।”

छत्रेश्वरी गाउँपालिका–२ डिग्रेका बेल बहादुर घर्तीले सुन्तला खेतीबाट मात्रै वार्षिक २३ लाख रुपैयाँसम्म आम्दानी गर्दै आइरहनुभएको छ । 

त्यस्तै, मयानीका हिमबहादुर शाहीको बगैँचामा पनि ७ सय सुन्तलाका बोट छन् । जसबाट वार्षिक १० देखि ११ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उहाँको भनाई छ । 

बागचौर नगरपालिका ८ डाँगी गाउँका भरत नाथ योगीले गत वर्ष मात्रै २८ लाखका सुन्तला विक्री गर्नुभयो । सुन्तला बिक्रीका लागि व्यापारीको समस्या नहुने उहाँको भनाई छ । जिल्लाका अन्य स्थानका सुन्तला लगि सकेपछि मात्र व्यापारीहरू कोटमौला आउने गरेको योगीको भनाई छ । 

सुन्तला खेतीका लागि हावापानी र माटो उपयुक्त भएका कारण सुन्तला खेती सल्यानका किसानहरूको आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ । राम्रो आम्दानी हुँदै गएपछि किसान सुन्तला खेतीमा आकर्षित समेत हुँदै गएका छन् । 

सल्यानमा १ हजार ८ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button