तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा  पहिलो पटक  व्यवसायीक रुपमा स्ट्रबेरी खेती

बाँके ।बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, च्यामा गाउँका ४३ वर्षीय सर्पराज बस्नेतले पहिलो पटक बाँकेमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गर्नुभएको छ। बेरोजगारीका कारण केही नयाँ काम गर्न चाहने सोचसहित बस्नेतले दुई कठ्ठा जमिनमा ‘क्यामारोजा’ जातको स्टोबरी खेती थालनी गर्नुभएको हो।

भारतको पुणेबाट नौ हजार बिरुवा आयात गरेर कार्तिक महिनामा रोपेका बस्नेतले माघ महिनाको पहिलो साताबाट उत्पादन दिने बताउनुभएको छ । उहाँका अनुसार, बिरुवाले ६० देखि ६५ दिनभित्र फल दिन थाल्छ। पहिलो सिजनमा नै यो खेतीले राम्रो आम्दानी दिनेमा उहाँ  विश्वस्त हुनुहुन्छ ।

बस्नेतले खेती सुरु गर्नुअघि कृषि विज्ञ डाक्टर शसन देवकोटा र दाङका कृषि व्यवसायी बिरेन्द्र खड्कासँग सल्लाह लिएको बताउनु भयो। बाँकेको उष्ण वातावरणमा यो खेती सफल हुनेबारे प्रारम्भिक शंका भए पनि मेहनत र उचित परामर्शले सफलताको बाटो खोलेको उहाँले बताउनुभएको छ।

स्टोबरी खेतीमा नियमित स्याहार, माटोको गुणस्तर, र सिँचाइ व्यवस्थापनजस्ता कुरामा विशेष ध्यान दिनुपर्ने बस्नेतको भनाई छ। बस्नेतले एकदमै  मेहनत लाग्ने समुन्द्री सतहदेखि ३५ सय   मिटरसम्म यो खेती हुने र ‘एक बुटामा औसत आधा किलो फल उत्पादन हुने, तर राम्रो स्याहार गर्दा प्रति बुटा पौने एक किलो उत्पादन लिन सकिने सम्भावना रहेको’ बताउनु भएको छ।

स्ट्रबेरी खेतीमा ठूलो लगानी भए पनि बस्नेतले पहिलो सिजनमा चार लाख रुपैयाँ बचत गर्ने लक्ष्य राख्नुभएको छ। यसका साथै, बिरुवा उत्पादन गरेर बिक्री गर्ने योजना पनि बनाउनुभएको छ।

यो खेती बाँके जिल्लाका लागि एकदमै नयाँ प्रयोग हो। सर्पराज बस्नेतले पहिलो पटक स्ट्रबेरी खेती सुरु गरेर अन्य किसानलाई पनि यो व्यवसायतर्फ आकर्षित गर्न चाहनुभएको छ ।‘खेतीबारीमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन यो मेरो प्रयास हो,’ बस्नेतले भन्नुभयो।

उत्पादनका लागि नौ हजार बिरुवा रोपेका बस्नेतले बिरुवा आयात गर्न दुई दिनको समय लागेको जानकारी दिनुभयो। माटोको उपयुक्तता र जलवायुको असरको गहिरो अध्ययन गरेर अघि बढ्दा यो खेती सफल हुनेमा उहाँ ढुक्क हुनुहुन्छ । 

स्टोबरी खेतीमा ध्यान दिनुपर्ने चुनौती भए पनि राम्रो बजार मूल्य, उपभोक्ताको माग, र उत्पादनबाट हुने आम्दानीले यसलाई आकर्षक बनाएको छ।

सर्पराज बस्नेतले बाँकेमा पहिलो पटक स्टोबरी खेती सुरु गरेर कृषि क्षेत्रमा नयाँ आयाम थप्नुभएको छ। अब उहाँले बिरुवा उत्पादन र बिक्रीमार्फत अरूलाई पनि यो खेतीमा प्रेरित गर्न चाहेको बताउनुभएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button