तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । यो वर्षको अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस भोली डिसेम्बर ३ अर्थात् मङ्सिर १८ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाल सरकारको नेतृत्वमा सबै सरोकारवाला निकायहरूको सहभागितामा विभिन्न कार्यक्रम गरी डिसेम्बर ३ मा यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष नेपाल सरकारले “समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार” भन्ने नारा तय गरेको छ ।

देशमा तीन तहको सरकार हुनु अपाङ्गता भएका व्यक्तिहरूको लागि राम्रो अवसर भएता पनि अपाङ्गता भएका व्यक्तिहरूको सवालहरू, नीति तथा कानुनहरु अपाङ्गताको प्राविधिक पक्ष,सामाजिक अवधारणा आदिको बारेमा प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधिहरू नै राम्रोसँग जानकार नहुँदा अपाङ्गता भएका व्यक्तिहरूका लागि बनेका ऐन, नियमहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको महासङ्घका अध्यक्ष देवीदत्त आर्चायले बताउनुभयो ।

उहाँले अपाङ्गताका क्षेत्रमा सरकारले धेरै काम गरेता पनि गर्नु पर्ने काम अझै रहेको र यसको लागि संयन्त्रहरू निर्माण गरी समन्वय गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको हक अधिकारको सुनिश्चिता गर्न, जनमानसमा चेतना फैलाउन उनीहरूको पहिचान, आत्मसम्मान र स्वाभिमानलाई विश्वभर एकीकृत रुपमा प्रवर्द्धन गर्ने हेतुले सन १९९२ देखि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन थालिएको हो ।

विश्व स्वास्थ्य सङ्गठनले सन २०२३ मा प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार संसारको कुल जनसङ्ख्याको १६ प्रतिशत मानिसहरू कुनै न कुनै रुपमा अपाङ्गताको अवस्थामा बाँचिरहेको र हरेक वर्ष बढ्ने क्रममा रहेको तथा नेपालको सन्दर्भमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्ग रहेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल र राष्ट्रिय अपाङ्ग कोषले संयुक्त रुपमा भोली भृकुटी मण्डमा मुल समारोहको आयोजना गर्दै छ । कार्यक्रमको पूर्व सन्ध्यामा महासङ्घले आज सुन्धारामा दिप प्रज्वलन र भोली बिहान प्रभातफेरी गर्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button