उदयपुर सिमेन्ट उद्योग तीन महिना देखी पटक-पटक बन्द
'कर्मचारीले तलब पाएनन्'
उदयपुर । सरकारी स्वामित्वमा रहेको देशकै ठुलो उद्योग उदयपुर सिमेन्ट उद्योग बिगत तीन महिनादेखि पटक पटक बन्द हुँदै आएको छ । उद्योग धरासायी हुँदै पटक पटक बन्द हुन थालेपछि उद्योगमा काम गर्ने मजदुर तथा कर्मचारीले तलब पाउन सकेका छैनन् ।
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-६ जलजलेमा रहेको देशकै ठुलो सिमेन्ट उद्योगको प्लान्टमा आरएसपी जडान गरी उत्पादन वृद्धि गर्ने भनि क्षमता विस्तार सम्बन्धी कार्य अगाडि बढेको भए पनि आर्थिक अभावका कारण उक्त काम कार्यान्वयन हुन नसक्दा उद्योगको उत्पादन अहिले पटक पटक बन्द भएको उद्योगमा काम गर्ने मजदुरले जनाएका छन् ।
उदयपुर सिमेन्ट गैँडा छाप सिमेन्टका नामले नेपालमा उच्च गुणस्तरको सिमेन्टका रुपमा परिचित सिमेन्ट उद्योग हो ।
उदयपुर सिमेन्ट उद्योगले नयाँ आरएसपी जडान गरी उद्योगको आर्थिक दायित्व, भविष्यमा आउनसक्ने आर्थिक भार तथा चुनौतीहरूको सामना गर्न उत्पादनमा वृद्धि गर्नुको कुनै विकल्प नभएपछि उत्पादन क्षमता वृद्धि गर्न झण्डै दुई वर्ष पहिले क्षमता विस्तार सम्बन्धी योजना अगाडि सारेको थियो । यद्धपी अहिले सम्म उक्त योजना कार्यान्वयनमा नआउँदा उदयपुर सिमेन्ट दिन प्रतिदिन धरासायी बन्दै गएको हो ।
उदयपुर सिमेन्ट उद्योगको हाल सञ्चालन भएकै मेसिनमा नयाँ प्रविधि आरएसपी जडान गरी दैनिक आठसय टन उत्पादन क्षमताबाट थप चारसय टन क्षमता वृद्धि गरी प्रतिदिन एक हजार दुईसय टन क्षमताको बनाउने भनि विगतमा उत्पादन महाशाखाका प्रमुखको संयोजकत्वमा प्राविधिकहरूको छुट्टै समिति नै बनाएर काम शुरु गरेको भए पनि आर्थिक अभावले सो काम अगाडि बढ्न नसकेपछि उद्योग अहिले बन्द हुने अवस्थामा गुज्रिनु परेको उद्योगका निमित्त महाप्रबन्धक महेश साहले बताउनुभयो ।
उद्योगमा हाल सञ्चालन भएको किलमा आरएसपी जडान गर्दा त्यसबाट हुने फाइदा र बेफाइदाको विश्लेषण सहितको कार्यविधि बनाएर विज्ञहरूसमेतको सुझावका आधारमा रोटरी किलको उत्पादन क्षमतामा वृद्धि गरी हालको आठसय टन प्रतिदिनबाट एक हजार दुईसय टन क्षमताको प्लाण्ट बनाउने लक्षका साथ योजना बनाइएको तर पैसाको अभावमा त्यस सम्बन्धि कामहरू हुन नसकेको निमित्त महाप्रबन्धक साहले बताउनुभयो ।
हाल चालु रहेकै किलमा आरएसपी जडान गर्दा प्लान्टको कुनै पनि ठूलो मेशिन किन्नु नपर्ने, पहिले जडान गरिएका अन्य कुनै पनि मेशिनहरू खोलेर अन्यत्रतिर प्रतिस्थापन गर्नु नपर्ने, पूर्णरुपले डिजिटल प्रणालीमा सञ्चालन हुने भएपनि यसकालागि थप बिद्युतको आवश्यकता नहुने, कोइला खपत कम हुने र क्लिङ्करकाे गुणस्तरमा समेत वृद्धि हुने गरी यो योजना बनाइएको तत्कालीन मेकानिकल विभागका प्रमुख एवं क्षमता बिस्तार समितिका सदस्य टिकाबहादुर कुवरले बताउनुभयो ।
आरएसपीले “किलबाट झरेको एघार सय डिग्री तातो क्लिङ्करलाई चिसो हावाको माध्यमले सय डिगहरिको तापक्रममा ल्याइने र टेरीटरी आयर री युज सिस्टम मार्फत त्यो कुलरमा तातिने हावालाई पुन एसपी टावरमा प्रयोग गर्न सकिने हुँदा यो प्रविधि सारै उपयोगी र कोइला खपत एकदम न्युन परिमाणमा हुने भएकोले तत्काल आरएसपी जडान गर्नुपर्ने कुवरको भनाइ छ ।
तत्कालीन मेकानिकल विभाग प्रमुख कुवरका अनुसार क्लिनियरमा तातो हावा पठाइसकेपछि माथिबाट झरिरहेको मेटेरियल तापक्रममा वृद्धि भई क्याल्सिनेशन प्रक्रिया तीव्र गतिमा हुने र क्याल्सिनेशन प्रतिशत क्रमशः वृद्धि भई हाल ४० प्रतिशत तल रहेकोमा सो बढेर ६० प्रतिशतभन्दा माथि पुग्ने हुँदा यसै प्रक्रियालाई नै उत्पादन वृद्धि भनिन्छ । यो योजना सम्पन्न भएको भए उद्योगलाई वार्षिक एक अर्ब पाँच करोड, ३९ लाख ३७ हजार पाँचसय रुपियाँ फाइदा हुने थियो । तर हाल चार महिनादेखि उद्योगका मजदुर तथा कर्मचारीले तलव समेत पाएका छैनन् उहाँले बताउनुभयो ।
आफ्नै चुन खानी भण्डार रहेको उदयपुर सिमेन्ट उद्योगले दैनिक १६ हजार आठसय बोरा सिमेन्ट उत्पादन र बिक्री गर्नुपर्नेमा खर्च नियन्त्रण गर्न नसक्दा सधैँ घाटा बेहोरी रहेको छ ।
उद्योगको मिल, क्लिन सेल, कोल मिल, कुलर, जिविएफ फ्यान तथा मोटर, एसपि फ्यान तथा मोटर र सिमेन्ट मिलको लाइन लगायत अधिकांश महत्वपूर्ण पार्टपुर्जाहरू जीर्ण बन्दै गएकोले पनि उद्योगले आर्थिक प्रगति हासिल गर्न नसकेको निमित्त महाप्रबन्धक साह बताउनुहुन्छ ।
उहाँका अनुसार विगतमा कम गुणस्तरको कोइला आयात गरिनु, कर्मचारीले गत साउन महिनादेखि तलव खान नपाउनु, उद्योग मन्त्रालयसँग मागिएको पाँच करोड ऋण नपाउनु, कर्मचारीको तलबबाट काटिएको करिब १५ करोड रकम सञ्चय कोष र नागरिक लगानी कोषमा विगत दुई वर्षदेख दाखिला नहुनु, अवकाश प्राप्त कर्मचारीले पाउनु पर्ने करिब ४० करोड भुक्तानी नपाउनु, विभिन्न आपूर्ति कर्ताहरूलाई दिनुपर्ने ६१ करोड र नेपाल विधुत प्राधिकरणलाई तिर्नुपर्ने ३३ करोड लगायत अन्य रोयल्टी र अन्तःशुल्कको रकमसमेतले गर्दा अहिले उद्योगले धरासायी भएको हो ।
उता सरकारले उदयपुर सिमेन्ट उद्योगमा पछिल्लो समय महाप्रबन्धक र सञ्चालक समितिको अध्यक्ष समेत नियुक्ति गर्न नसक्दा निमित्त उद्योग दिन प्रतिदिन बन्द हुने अवस्थामा पुगेको हो । उद्योगमा महाप्रबन्धक र सञ्चालक समितिको अध्यक्ष नियुक्ति नुहुँदा अहिले का.मु. महाप्रबन्धकको रुपमा आफूले काम कार्य गर्दै आएको भएपनि उद्योग मन्त्रालयले कोइलाको अभावमा बन्द रहेको उद्योगलाई सञ्चालनमा ल्याउन बेवास्ता गरेको निमित्त महाप्रबन्धक साहले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्