तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्व : वीरगंजमा अस्ताउँदो सूर्यलाई अर्घ चढाइयो 

वीरगंज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको छ । 

वीरगंजको चर्चित घडीअर्वा पोखरीसहित, नगरक्षेत्रका एक दर्जनभन्दा बढी छठ घाटहरूमा लाखौँको सङ्ख्यामा रहेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ चढाएका छन् । 

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ । छठ पर्व मङ्गलवारदेखि शुरु भएको हो । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ । 

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठ पर्वमा कृषि उपजहरूलाई प्रसादको रुपमा चढाइने भएको हुँदा यो विशुद्ध रुपमा कृषिमा आधारित पर्व  भएको लोक कथन रहेको छ । 

छठ पर्वमा कठोर ब्रतबस्ने व्रतालुहरूले आज छठ घाटमा पूजा आराधाना गरी रातभर भजन कीर्तन गरेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि यो पर्व बिधिबत रुपमा सम्पन्न हुने मान्यता रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button