तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा छठ घाट झकिझकाउ

'छठको चहलपहलले बजारमा रौनक थपियो '

वीरगंज । बिहीबार साझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर हुने प्रकृति पूजा र सूर्य उपासनाको महापर्व छठ पूजाका लागि वीरगन्जमा तीन दर्जन बढी जलाशयलाई छठ घाटका रुपमा सजाइएको छ । तीमध्ये घडिअर्वा पोखरी, रानी घाटको सरिसवा, आदर्श नगरको स्वीमींग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई छठ घाटका रुपमा विशेष रुपमा सजाइएको छ ।

निक्कै श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवत् रुपमा मङ्गलवारदेखि सुरु भएको छ । छठको मुख्य दिन कार्तिक २२ गते बिहीबार सँझिया घाट र  त्यसको भोलिपल्ट भोरिया घाटका दिन छठका व्रतालुहरू छठघाटमा पुगेर जलाशयमा उभिएर छठी माता र सूर्य भगवानको उपासना गर्दै अर्घ दिने गर्छन् ।

त्यसैका लागि वीरगन्ज महानगरमा रहेका जलाशय,पोखरी र नदीलाई निक्कै आकर्षक तरिकाले साजसज्जा गरी छठ घाटका रुपमा सजाइएको हो ।

वीरगन्ज–१० आदर्शनगरस्थित स्वीमींग पुल परिसरलाई पनि छठ घाटका लागि बेहुली झैँ सजाइएको छ । स्वीमींग पुल परिसरमा आकर्षक टेण्टपण्डाल र झिलिमिली विद्युतीय बत्ती लगाएर निक्कै आकर्षक तरिकाले सजाइएको स्वीमिंग पुल छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष मुकेश बर्णवालले बताउनुभयो । छठघाटमा आउने व्रतालु र भक्तजनहरूको सेवा र सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीय स्वयंसेवक पनि खटाइने प्रबन्ध मिलाइएको बर्णवालले जानकारी दिनुभयो ।

यस्तै वीरगन्ज–१० मै पर्ने घडिअर्वा पोखरी छठ घाट, वडा नम्बर ११ रानी घाटमा पर्ने सरिसवा छठ घाट, वीरगन्ज–१२ मा पर्ने मूर्ली पोखरी र वडा नम्बर १६ मा पर्ने नगवा पोखरीको छठ घाट सजावटको काम पनि अन्तिम चरणमा पुगेको आयोजक समितिहरूले जनाएका छन् ।

यसका साथै यहाँका बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङ्लो , डालो , सुली , टोकरी , माटोको कलश , दियो , पुजन सामाग्री र प्रसादमा प्रयोग हुने उखु , फलफूल , मिठाइ , हरियो तरकारी , गहुँको पिठो , चिनी , तेल , नयाँ लत्ताकपडा लगायतका सामान किन्नेहरूको वीरगंज बजारमा भिडभाड बढेको छ ।

वीरगन्जको घण्टाघर चोक देखि माइस्थान चोक सम्मको सडकमै छठका पुजन सामाग्री , फलफूल र बासका सामाग्री बेच्न पसलहरू थापिएका छन् ।

व्रतालुहरूले छठ पूजाका सामाग्री षष्ठी तिथिको बिहान सम्म पनि किन्ने भएकाले त्यस दिन सम्म पनि यहाँका बजारमा छठको किनमेल गर्नेहरुको भिड लाग्ने गर्दछ । 

व्यापारीहरूका अनुसार, यस वर्ष पूजा सामग्रीको मूल्य अघिल्ला वर्षको तुलनामा केही वृद्धि भएको छ । यसका बाबजुद, छठ पूजाको धार्मिक महत्त्वका कारण भक्तजनहरूले मूल्यको प्रवाह नगरी आवश्यक सामान किनमेल गरिरहेका छन् ।

छठको चहलपहलले बजारमा रौनक थपिएको छ भने व्यापारीहरू पनि बिक्री बढेपछि सन्तुष्ट देखिएका छन् । स्थानीय प्रशासनले पनि बजार क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै भीड व्यवस्थापनको लागि सुरक्षाकर्मीहरू परिचालन गरेको छ ।

वीरगञ्जका बजारहरूमा छठको रौनकसँगै भक्तजनहरूको तयारीले यस वर्षको पर्वलाई विशेष बनाएको छ । विशेषगरी छठमा नयाँ कपडा र जुत्ता खरिद गर्ने परम्पराले गर्दा कपडा पसलमा भिडभाड बढेको हो । घण्टाघरदेखि आदर्श नगरसम्मका पसलमा सवारी जामसमेत देखिएको छ ।

छठको विशेष आकर्षणका रूपमा भारतको सीमावर्ती रक्सौलबाट समेत कपडा लिन आम उपभोक्ता वीरगञ्जमा आउने गरेका छन् । विशेषगरी रक्सौल क्षेत्रका उपभोक्ताहरू जिन्स कपडा खरिद गर्न वीरगञ्जमा आउने गरेका छन् । 

यहाँका कपडा  पसलमा रक्सौलको तुलनामा जिन्स सस्तो पाइने भएकाले रक्सौल आसपासबाट मानिसहरू वीरगञ्ज आउँछन् । प्रत्येक वर्ष छठ पर्वमा रक्सौलका बासिन्दाले वीरगञ्जबाट जिन्स सहित अन्य कपडा किनमेल गर्ने परम्परा नै रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button