तपाईँ सुन्दै हुनुहुन्छः

देउसी भैलोमा मौलिकताको खोजी 

काठमाडौँ । नेपालीको दोस्रो ठूलो पर्व तिहारलाई उज्यालोको पर्वका रुपमा लिइन्छ । यस्तै, यो पर्वले नेपाली मौलिक परम्पराको अर्को परिचय पनि दिएको छ । त्यो भनेको देउसी भैलो खेल्नु । देउसी भैलाको आफ्नै विशेषता छ । त्यसको आफ्नै लय छ । एउटाले भट्ट्याउने र अरू सहभागीले देउसी रे वा भैलो भन्ने गर्छन् । तर पछिल्ला दिनमा उसमा देखासिकी बढ्दै गएको छ । चर्को स्वरमा स्पिकर बजाएर ध्वनि प्रदूषण नै हुने गरी टोल समाजमा युवाले संस्कृतिको नाममा विकृति फैलाइरहेको गुनासो व्याप्त छ । 

आधुनिकताको नाममा देउसी भैलो गाउने तरिका बदलिएको छ । खासगरी देउसी पुरुष  र भैली महिलाले खेल्ने परम्परा भएपनि शहरी क्षेत्रमा त्यो विशेषता समेत हराएको छ । विगतमा राम्रो तयारी गरेर युवा पुस्ताले देउसी भैलो खेल्थे । अहिले भने स्पिकर, मोबाइल वा क्यासेट बजाएर देउसीको सांस्कृतिक पक्षमाथि नै अतिक्रमण भएको सर्वत्र देख्न सकिन्छ । दोहोरी गीत, पप र र्‍याप गीत बजाउने जमात पनि उत्तिकै छ । 

पहिले पहिले पुरुषले दौरा सुरुवाल र महिलाले गुन्यु चोलो लगाउँथे, देउसी भैलो खेल्थे । आर्शिवाद थाप्छे र आफ्नो गच्छे अनुसार, दक्षिणा दिन्थे । आजकल भने तोकेर नै दक्षिणा माग्ने प्रवृत्ति मौलाएको छ । यसबाट सांस्कृतिक पहिचान नै खतरामा परेको छ । देउसी भैलोबाट उठेको रकम आफूखुसी खर्च गर्ने वा सामाजिक काममा उपयोग गर्ने भन्ने बारेमा पनि फरक फरक मत छ । 

मजुरा, मादल बजाउने, वरिपरि घुमेर भट्ट्याउने प्रचलन थियो देउसीमा । विद्युतीय सामग्रीको प्रयोग गरेर खेल्दा परम्पराको जगेर्ना नहुने आम गुनासो रहँदै आएको छ । नयाँ पुस्तालाई मौलिक संस्कार र पहिचानका बारेमा सचेत गराउनुपर्ने मत पनि उत्तिकै बलियो बन्दै गएको छ । 

सांस्कृतिक पक्ष कम, मनोरञ्जन बढी हुँदै जाँदा देउसी भैलोको परम्परागत महत्व समेत ओझेलमा परेको छ । स्थानीय लोकबाजाको प्रयोगमा कमी आएको छ । खासगरी पैसा सङ्कलनको मात्रै माध्यम बनाइदा त्यसले विकृति फैलाउन सहयोग पु¥याएको देखिन्छ । 

तिहारलाई पारिवारिक सम्बन्ध र संस्कारको पर्वका रुपमा लिइन्छ । यमपञ्चकका रुपमा चिनिने यस पर्व पाँच दिन मनाइन्छ । खासगरी धन दौलत वैभव र सुखसँग जोडिनेभएकाले पनि यस पर्वलाई समृद्धिको पर्वका रुपमा पनि लिइन्छ । काग, कुकुर, गाई, गोरुको समेत पूजा गरिने भएकाले तिहारलाई प्रकृतिसँग एकाकार भएको पर्वका रुपमा हेरिन्छ । यस पर्वको महत्वसँगै सयपत्री, मखमली र गुर्दौली फूल, र सेल रोटी पनि सँगै जोडिएर आउँछ । 

आधिकारिक रुपमा केही तथ्य प्रमाण नभएपनि नेपालको मध्यकालदेखि देउसी भैलो सुरु भएको किंवदन्ती छ । जुम्लाको खस राज्य र बलीसँग यसको सांस्कृतिक पक्ष जोडिएको समेत बताइन्छ । देउसी रे वा देवश्री यसलाई देवताको आर्शिवादका रुपमा लिइने सांस्कृतिक मूल्य र मान्यता छ । परम्परादेखि नै तिहारमा गाइने देउसी र भैलीले नेपाली समाजलाई उत्सवमय बनाएको छ । यसलाई उत्सव, उल्लास र उत्साहको गीतका रुपमा पनि लिइन्छ । 

तर, संस्कृति जगेर्नाको नाममा भइरहेको गलत क्रियाकलापलाई भने छुट दिन नहुने मत पनि उत्तिकै छ । देउसी र भैलोले नेपाली समाजमा सांस्कृतिक धरोहरका रुपमा परिचित छ ।  ग्रामीण तथा शहरी क्षेत्रका प्रत्येक टोल टोलमा खेलिने भएपनि पछिल्ला दिनमा विकृति बढेको बताउनुहुन्छ लेखक तथा साहित्यकार डा घनश्याम पुडासैनी । 

“म ७२ वर्षको भए पहिले देउसी भैलो खेल्दा मौलिक स्वरूपमा हुन्थ्यो । अहिलेको समयमा मौलिक परम्परालाई छाडेर शिष्टता भन्दा आधुनिकताका केन्द्रित छ । मौलिकता हराएको छ ” उहाँले भन्नुभयो ।  अहिलेको युवा पुस्तामा तिहारमा देउसी भैलो भन्दा आधुनिक गीततिर केन्द्रित भएर हिँडेको देखिने उहाँको भनाइ छ ।  

लेखक देवेन्द्र अर्याल पहिलेको देउसी भैलो संस्कृति, मूल्य तथा मान्यतासहितको हुने गरेपनि पछिल्ला दिनमा आधुनिकताको नाममा विकृति बढ्दै गएको बताउनुभयो । “देउसी भैलोको आफ्नै लयको गीत हुन्छ । भेषभूषा पनि त्यस्तै हुन्थ्यो । तर पछिल्ला दिनमा मोबाइल, स्पिकर बजाउने प्रचलन मौलाएको छ । आधुनिक भनिएका गीत सङ्गीतमा केन्द्रित भएको छ ” उहाँले भन्नुभयो । 

सम्पदा संरक्षणमा लाग्दै आउनु भएका टोखाका मनिराज डङ्गोल पनि देउसी र भैलोको नेपाली मौलिकता हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुहुन्छ । “पहिलाको देउसी भैलो घर घरमा गई मौलिक रुपमा खेलिन्थ्यो । अहिले मौलिक भन्दा भद्दा बढी हुन थालेको छ” उहाँले भन्नुभयो ।  यमपञ्चकको कथामा भट्याएर खेलिने देउसी भैलो आजकल रेकर्ड गरिएको गीत बजाउने मात्रै गरिदा मौलिकपन हराउँदै गएको आफूले पाएको उहाँको कथन छ । 

नेपाली, कला, संस्कृति र परम्परासँग जोडिएको यस पर्वलाई विकृति र विसङ्गतिमुक्त बनाउँदै भावी पुस्ताका लागि समेत जानकार गराउनु आजको प्रमुख विषय हो । सांस्कृतिक अतिक्रमण बढ्दै गएको सन्दर्भमा तिहार र यससँग जोडिएको मौलिकतालाई विस्तार गर्नु पनि उत्तिकै आवश्यक छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button