तपाईँ सुन्दै हुनुहुन्छः

युवाशक्ति विदेश पलायन:खेतीयोग्य जमिन वनमाराले ढाकिए

सल्यान । युवाशक्ति विदेश पलायन हुन थालेपछि सल्यानका ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । खेतीयोग्य जमिन दिन प्रतिदिन बाँझो बन्दै गएको छ । जमिन बाझो हुँदै जाँदा मिचाहा प्रजाति फैलिँदै गएको छ । 

वनक्षेत्र ढपक्कै ढाकेको वनमाराले खेतबारी पनि ढाकेर कृषिकर्म नै गर्न नपाइने होकी भन्ने चिन्ताले सताउन थालेको बनगाड कुपिण्डे नगरपालिका-७ लाम्पाटाका हेर्म थापाले बताउनुभयो । बनमारा हटाउने कुनै उपाय नभएकाले यसले झनै असर गर्दै आइरहेको उहाँको भनाई छ । उहाँले भन्नु भयो यसको फूल र बोटबाट फैलिन्छ । बनमाराको झाडी काटेर सम्भावना छैन । फेरी जराबाट उम्रन्छ । 

वनमाराले जग्गाजमिन सबै मिच्दै आएको अर्का किसान तुलसी थापाको गुनासो छ । उहाँले भन्नु भयो पछिल्लो छ सात वर्ष यता यो झार यति फैलियो कि, वन पाखा, खेतबारी, पानी पँधेरा, बाटाघाटा पनि यसकै झाडी मात्रै छ । 

मिचाहा प्रजातिले मिच्दै जाँदा बस्तुभाउलाई चरन क्षेत्रको समेत अभाव हुँदै आइरहेको उहाँको भनाई छ । रुख बाहेक जमिन जता पनि बनमाराले ढाकेकाले बस्तुभाउलाई के घाँस हाल्ने भन्ने पिरलो पर्दै आइरहेको उहाँको भनाई छ । वनमाराका झाडी धेरै भयो, बँदेल, घोरल, रतुवा, दुम्सी, खरायो लगाएतका वन्यजन्तु यसैमा लुक्ने र खेतीपातीमा क्षति गर्ने गरेको उहाँले बताउनुभयो । ‘पहिले त केही थाहा थिएन्, अहिले त वन्यजन्तुको आतङ्क छ, रातभर बासीमै बस्नुपर्छ, जनावरले बचाएको बाली मात्रै हाम्रो हो ।’ उहाँले भन्नुभयो । 

सल्यानमा कालो वनमारा, सेतो वनमारा, बनफाँडा, सेतो गन्धे झार, निलो गन्धे झार, पटपटे, काँडे लुडें, सत्यनाशी, कालो कुरो, चित्लागें, वेशरम, वन तुलसी झार, लज्जावती झार, चरिअमिलो, पाति झार, भेडेँ कुरो जस्ता एक दर्जनभन्दा बढी मिचाहा प्रजाति विभिन्न ठाउँमा फैलिरहेको पाइन्छ । विश्वव्यापी रुपमा नै जैविक विविधताको नाश गर्ने मुख्य कारकमध्ये एक मिचाहा प्रजातिलाई मानिन्छ ।

MXAWMJ Lantana camara, colorful wildflower growing in Nepal.

अतिक्रमणकारी वनस्पतिका कारण तराई हुँदै पहाडी क्षेत्रहरूमा गम्भीर प्रभाव परिसकेको पारिस्थितिक प्रणालीमा आधारित अनुकूलन आयोजनाका जिल्ला संयोजक डा. दिगम्बर सिंह दाहालले बताउनुभयो । ‘तराई क्षेत्रबाट प्रवेश गरेको मिचाहा प्रजाति पहाड हुँदै हिमाल सम्म नै पुग्न थालेको छ, त्यहाँको परिस्थिति नियन्त्रण गर्ने उपायहरूलाई प्राथमिकीकरण गर्न एउटा विस्तृत तथा बृहत् अध्ययनकै आवश्यक पर्छ ।’ उहाँले भन्नुभयो । 

मिचाहा प्रजातिका वनस्पतिका असरहरू बहुआयामिक (जैविक, पर्यावरणीय, आर्थिक एवं मानव स्वास्थ्य) हुन्छन् । मिचाहा प्रजातिहरू छिटो बढ्ने र धेरै खालका वासस्थानहरूमा बाँच्न सक्ने क्षमताका हुन्छन् । यिनीहरू अत्यधिक धेरै बीउ उत्पादन गर्न सक्ने र जरा एवं काण्डबाट समेत नयाँ बिरुवा उत्पादन गर्न सक्ने हुनाले नयाँ ठाउँमा छिटो अतिक्रमण गर्न सक्छन् । यस्ता प्रजातिहरू ठूलो क्षेत्रमा फैलिएर स्थानीय÷रैथाने प्रजातिहरूलाई विस्थापित गरी स्थानीय पारिस्थितिकीय प्रणालीमा नै सोझै असर पार्दछन् ।

मिचाहा प्रजातिले रैथाने प्रजातिलाई लोप बनाएको र अस्तित्व नै सङ्कटमा पारिदिएको धेरै उदाहरणहरू छन् । नेपालमा मिचाहा प्रजातिले जैविक विविधता र पारिस्थितिक प्रणालीमा असर पारेको छ । उदाहरणका लागि वनमारालाई लिन सकिन्छ । यसले जमिनलाई नै छपक्क ढाक्ने हुनाले स–साना बिरुवाहरू उम्रिन र बढ्न सक्दैनन् ।

यस्तै कृषि क्षेत्रमा नयाँ मिचाहा प्रजातिको आगमनले ठूलो आर्थिक बोझ थपिदिएको छ । मिचाहा प्रजातिले गर्दा वनमा पाइने घाँस र गैहकाष्ठ वन पैदावार घटेको कुरा स्थानीयले अनुभव गरेका छन् । मिचाहा प्रजातिले गर्दा वनको पुनरुत्पादन घटेको एवं झाडी फडानी गर्न ठूलो मिहिनेत गर्नु परेको बनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँका राजकुमार खत्री बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button