तपाईँ सुन्दै हुनुहुन्छः

पेरीभरानी तालमा चिच्याएर बर माग्ने मेला

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा आज चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ ।

जनैपूर्णिमा पर्वका अवसरमा पेरीभरानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको घराम्दी, टिकोट, रिमा, औला, शिख, फलाते, चित्रे, घोडेपानी, घार, खिवाङका साथै पोखरालगायत गाउँबाट पूजाआजाका लागि भक्तजनहरू आएका पेरीभारानी संरक्षण समितिका पूर्व अध्यक्ष दूतबहादुर पुर्जाले बताउनुभयो ।

पेरीभरानी तालमा भाकल गरेमा सन्तान प्राप्ति, शिक्षा, रोजगारीमा सफलता, सम्पत्ति आर्जन हुने जनविश्वास रहेको पुर्जाले बताउनुभयो । भाकल गरेको पूरा भएपछि भेडाको साड र बोका बलि चढाउने चलन छ । अन्नपूर्ण गाउँपालिका–७ टिकोटका दलवीर परियारले पेरीभारानी तालमा भाकल गरेको पूरा भएपछि तीन पटकसम्म पूजा गर्न आएको बताउनुभयो ।

घना गुराँसको जङ्गलको बीचमा रहेको अन्य दिन पनि पूजाआजा र भाकलको बलि चढाउन सकिने संरक्षण समितिले जनाएको छ । करिब दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको तालमा वरपर जङ्गल भए पनि पातपतिङ्गर नदेखिनु र नभेटिनु अनौठो किसिमको विशेषता रहेको अन्नपूर्ण–७ को घराम्दी टोल विकास संस्थाका अध्यक्ष अमृत गर्बुजाले बताउनुभयो ।

पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि हिमालको दृश्य अवलोकन गर्न सकिने तालको वरपर निर्माण थालिएको पदमार्गलाई पूर्णता र तालमा उम्रिएको झार उखेलेर फाल्ने कार्यलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

अन्नपूर्ण चक्रीय पदमार्गको प्रसिद्ध पर्यटकीय गन्तव्य घोडेपानी÷पुनहिलबाट एक घण्टा उत्तर पश्चिम पैदलयात्रापछि पेरीभरानी तालमा पुग्न सकिन्छ । घोडेपानी, महभिर–घराम्दी र खिवाङ गाउँदेखि प्यारीबाराही ताल जोड्ने तीन वटा सडक छन् । घोडेपानी–भरानी तालसम्म छुट्टै तीन/तीन किलोमिटर दूरीको साइकल र घोडा मार्ग पनि बनाइएको छ ।

पेरीभरानी ताल अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यावरणीय पदमार्गको आकर्षण हो । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन पुनले पेरीभरानी ताल जोड्ने सडक स्तरोन्नति, सरसफाइलाई निरन्तरता र पदमार्ग निर्माणलाई पूर्णता दिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button