तपाईँ सुन्दै हुनुहुन्छः

छाडा चौपायाका कारण बुटवलमा महिलाको मृत्यु, व्यवस्थापनमा चुनौती

बुटवल । छाडा चौपाया (साँढे)ले आक्रमण गर्दा बुटवलमा एक महिलाको मृत्यु भएको छ ।

केही दिनअघि साँढेको आक्रमणबाट गम्भीर घाइते भई अस्पतालमा भर्ना भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको उपचारका क्रममा शनिबार राती मृत्यु भएको हो । 

डेरी पसलमा दूध लिन जाने क्रममा सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणबाट घाइते भएकी सीतालाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा उहाँको शनिबार राती मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिनु भयो । 

गुल्मीको रेसुङ्गा नगरपालिका ४ घर भएकी मृतक सीताले बुटवलस्थित पुलचोकमा खाजा पसल सञ्चालन गर्दै आउनु भएको थियो । यद्ययी, बुटवल उप-महानगर पालिकाले वडा नं.७ शिवनगरमा छाडा गाई/गोरुलाई ब्यपस्थापनका लागि नन्दिनी गौशाला निर्माण गरेको छ । तर, उक्त गौशालामा थप गाई गोरुको उचित व्यवस्थापन गर्न नसक्दा छाडा चौपायाकै कारण मानिसले अकालमा ज्यान गुमाउनु परेको बुटवल उप–महानगरपालिकाका प्रवक्ता शिव रानाले बताउनुभयो ।  

यता, छाडा चौपाया व्यवस्थापनमा उप–महानगरले करोडौँ रकम खर्च गरेको छ । तर, दाना र पर्याप्त घाँस नभए पछि गौशालामा छोडिएका चौपाया पुन बजार क्षत्रेमा देखिन थालेका छन् । छाडा चौपयाहरु बुटवलका सडक किनारा र बजारका चोकमा गोठ जमाएर बस्न थालेको बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरका टेक बहादुर गुरुङले जानकारी दिनु भयो । 

छाडा चौपायाका कारण मानिसले अकालमै ज्यान गुमाउनु परेको यो पहिलो घटना भने होइन । तथापि, गोशाला निर्माण पछि भने पहिलो घटना हो । 

केही महिना पहिले बुटवल योगीकुटीका प्रत्यूष विश्वकर्माले रोकि राखेको स्कुटरमा पछाडिबाट छाडा गाईले हान्दा उहाँ घाइते हुनु भयो । उहाँको खुट्टा र हातमा चोट लागेको थियो । त्यति मात्र होइन, बुटवलका पत्रकार गुनाराम घिमिरे गत चैतमा साँढेको आक्रमणमा पर्नु भयो । आक्रमणमा खुट्टा भाँचिए पछि उहाँ लामो समयसम्म हिँडडुल गर्न सक्नु भएन । यी त प्रतिनिधि घटना मात्र हुन् । छाडा चौपायाका कारण दर्जनौँ व्यक्तिले ज्यान गुमाउनु परेको र करिब डेड सय व्यक्ति घाइते भएको बताउनु हुन्छ बुटवल ११ का सन्दिप भट्टराई । तर बुटवल उपमहानगरसङ यसको कुनै तथ्याङ्क छैन । 

बुटवल सबैतिरको केन्द्रबिन्दु भएकाले पनि अन्यत्रबाट धेरै गाईगोरु आउने गरेका कारण बुटवलमा गाई/गोरुको व्यवस्थापन सबैभन्दा चनौतिको विषय बनेको बताउनुहुन्छ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ।

सडकमा गाईगोरु देखेमा शिवनगर गौशालामा पुर्‍याउन  वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्नका लागि आग्रह गरिएको उहाँले बताउनु भयो । सडकमा गाईगोरुको सङ्ख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रुपमा सञ्चालन गरेको भए पनि व्यवस्थापनमा समस्या आएको उहाँको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button