प्रतिनिधिसभामा सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पनि विनियोजन विधेयक, २०८१ माथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले स्रोत साधनको उच्चतम सदुपयोग गरी कार्य सम्पादनलाई नतिजामुखी बनाउन आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री उप्रेतीले छलफलबाट प्राप्त सुझावहरूलाई ध्यानमा राखेर बजेट कार्यान्वयनमा जोड दिने बताउनुभयो ।
बैठकमा युवा तथा खेलकुद मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
यसअघि, आकस्मिक समयमा सांसद्हरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकको आकस्मिक समयमा बोल्दै सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका गोरखा मिडियाका सञ्चालक जिबी राईको लोकेशन पत्ता लागेको भनी उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने दिनुभएको अभिव्यक्ति बारे प्रश्न उठाउनुभयो ।
सांसद शर्माले गृहमन्त्री भएर संवेदनशील विषयमा पनि गोपनीयता नराखेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद महेशकुमार बर्तौलाले निकुञ्ज क्षेत्रमा भएको हेटौँडाका सुखबहादुर तितुङ घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसद्हरुले संसद् सचिवालयका कर्मचारीको मागलाई सम्बोधन गर्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने र चुरे संरक्षणमा ध्यान दिनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै आजको बैठकमा बजेट पास गर्ने तयारी गरिएको छ ।
बैठकमा, अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
यस्तै बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्