प्रतिनिधिसभामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक–२०८१ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी छ ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्ने गरी बजेट ल्याइएको बताउनुभयो ।
मन्त्री भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकास र विस्तारको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री भण्डारीले उपभोक्ता अदालत गठन र रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई बजेटले प्राथमिकतामा राखेको बताउनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले आगामी आर्थिक वर्षमा रासायनिक मलको अभाव नुहुने गरी सरकारले कार्ययोजना बनाएको बताउनुभयो । मन्त्री साहले किसानले पाउन बाँकी भुक्तानीको रकम अपुग भए ऋण लिएर नै भुक्तानी गर्ने तयारीमा सरकार लागि परेको बताउनुभयो ।

मन्त्री साहले कृषि क्षेत्रमा रोजगारी सृजना गर्ने विषयमा सरकार गम्भीर भएको भन्दै बाँझो जग्गामा खेतीका लागि युवालाई प्रोत्साहित गर्न आफ्नो निर्वाचन क्षेत्रमा कृषि क्षेत्रको पुर्नउत्थानकाे लागि सांसदहरुले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन समस्या समाधानका लागि ५ लाख भूमिहीनलाई लालपुर्जा वितरण गर्ने योजना अघि बढेको बताउनुभयो ।

मन्त्री अधिकारीले मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको भन्दै अपेक्षित लक्ष्य हासिल गर्न विनियोजित बजेट अपुग हुने बताउनुभयो । मन्त्री अधिकारीले चालू आर्थिक वर्षमा मन्त्रालयले ३८ अर्ब रुपैयाँ राजश्व सङ्कलन र ३० लाख सेवाग्राहीलाई सेवा दिएको जानकारी दिनुभयो ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आ—आफ्ना मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ ।
प्रतिक्रिया राख्नुहोस्