एकीकृत सूचना प्रणालीको विकास आजको आवश्यकता : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले उड्डयन मौसम सेवालाई थप प्रभावकारी बनाउन साङ्गठनिक क्षमता र स्रोतको अधिकतम उपयोग गर्नुपर्ने बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा आज काठमाडौँमा आयोजित सुरक्षित हवाई उडानका लागि उड्डयन मौसम सेवाको महत्व सम्बन्धी कार्यशाला गोष्ठीमा मन्त्री बस्नेतले हवाई मौसम सम्बद्ध सङ्गठनको क्षमता र स्रोतको अधिकतम उपयोग गरि अति उत्तम प्रतिफल पाउने गरी काम गर्नुपर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले जलवायु परिवर्तन र नेपालको भौगोलिक जटिलताले मौसम पूर्वानुमानमा समस्या सिर्जना हुने गरेको भन्दै एकीकृत सूचना प्रणालीको विकास आजको आवश्यकता भएको बताउनुभयो ।

गोष्ठीमा राष्ट्रिय योजना आयोगका सदस्य डा.अरनिकोकुमार पाण्डेले जलवायु परिवर्तनबाट विकसित प्रतिकुलताको अध्ययन अनुसन्धान गरि हवाई मौसम सेवाका लागि आवश्यक पर्ने रणनीति अपनाउनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक जगदिश्वर कर्माचार्यले हवाई मौसम सेवालाई सुदृढ तुल्याउन एकीकृत सूचना प्रणालीको आवश्यकता रहेको भन्दै नीतिगत स्पष्टता हुनुपर्ने बताउनुभयो ।
गोष्ठीमा विश्व बैंकका राष्ट्रिय निर्देशक (कन्ट्री डिरेक्टर)इगुनीवारीईकेयु वेईले नेपालको हवाई सुरक्षालाई मजबुत बनाउन विश्व बैंकले मौसम पूर्वानुमानका लागि आवश्यक सहयोग गर्दै आएको बताउनुभयो ।
गोष्ठीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनका सदस्य, अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको एसिया प्रशान्त क्षेत्रका सदस्य, नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरूले आ–आफ्नो प्रस्तुति राख्नुभएको थियो ।
गोष्ठीमा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, एयरलाइन्स कम्पनीका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पाइलट लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्