विपद व्यवस्थापनका लागि सबै राजनीतिक दल सम्मिलित साझा मञ्च आवश्यक : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विपद्जन्य प्रकोप व्यवस्थापनका लागि सबै राजनीतिक दल सम्मिलित साझा मञ्च बनाउनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित मनसुनपूर्व तयारी तथा प्रतिकार्य सम्बन्धमा राजनीतिक दलसँगको अन्तरक्रियामा मन्त्री लामिछानेले सङ्कटको समयमा नेपालका राजनीतिक दलहरू सधैँ एकताबद्ध भएर लागेको स्मरण गर्नुहुँदै विपद्को सम्भावित जोखिम न्यूनीकरणका लागि पनि सबै दल सम्मिलित साझा मञ्च बनाउनुपर्नेमा जोड दिनुभयो ।
गृहमन्त्री लामिछानेले विपद्को समयमा राहत र उद्धारमा खटिन सक्ने तालिम प्राप्त जनशक्तिको नाम उपलब्ध गराउन पनि सबै राजनीतिक दललाई आग्रह गर्नुभयो ।

अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिले विपद व्यवस्थापनमा सरकारलाई सहयोग गर्न आफूहरू सधैँ तयार रहको भन्दै सरकारले विगतका कमिकमोजोरीलाई सुधार गरि विपद व्यवस्थापनलाई चुस्त र समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।
दलका प्रतिनिधिले विपद पछिको राहत र उद्धार भन्दा पनि विपदबाट सम्भावित जोखिम रहेका क्षेत्र पहिचान गरि दीर्घकालीन समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।
दलका प्रतिनिधिले कानूनी जटिलता र प्रशासनिक ढिलासुस्तीले राहत,उद्धार र पुरस्थापनाको काम नतिजामुखी हुन नसकेको भन्दै यो वर्षको विपद्मा नागरिकलाई कुनै पनि अप्ठेरो नहुने गरि कानूनी र प्रशासनिक प्रबन्ध मिलाउन आग्रह गर्नुभयो ।
अन्तरक्रियामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनमत पार्टी, एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका दलको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्