तपाईँ सुन्दै हुनुहुन्छः

नगरपालिकाको लगानीमा मोटरेवल पुल निर्माण 

तनहुँ । तनहुँमा एक स्थानीय तहले आफ्नै लगानीमा मोटरेबल पुल निर्माण गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई करोड २६ लाख १३ हजार लगानीमा दुई वडालाई जोड्ने गरि मोटरेवल पुल निर्माण गरेको हो । 

नगरपालिकाको वडा न १ थप्रेक र वडा न २ कोत्रेलाई जोड्ने गरि स्थानीय गुवेखोलामा पुल निर्माण सम्पन्न गरेको नगरपालिकाका सूचना अधिकारी समेत रहेका प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले जानकारी दिनुभयो । 

सामान्यतया मोटरेवल पुल निर्माणका लागि प्रदेश र केन्द्र सरकारको योजना गुहार्नुपर्ने मान्यता रहेको छ । नगरपालिकाले आफ्नै लगानीमा पुल निर्माण गरेपछि वडा न १ थप्रेकका नागरिकलाई नगरपालिका सहित पोखरा बजारको सहज पहुँचमा पुग्न सहयोग पुगेको वडा नम्बर  १ का वडाध्यक्ष रविचन्द्र पौडेलले दाबी गर्नुभयो । 

गत बर्ष नै निर्माण सम्पन्न भई सञ्चालनमा आएको यो पुलको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आलेले उद्घाटन गर्नुभएको छ । पुलको उद्घाटन गर्न गृह जिल्ला आउनुभएका मन्त्री आलेले यस क्षेत्रका जनताको समस्या समाधानमा प्रदेश सरकार लागिरहेको जानकारी दिनुभयो । आलेले चालु आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाको विकास गर्न प्रदेश सरकारको लगानी वृद्धि गरेको जनाउँदै नागरिकको समस्या समाधानमा स्थानीय तहले भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले लालध्वज मोटरमार्ग बहुवर्षीय योजनामा परेको बताउँदै ठेक्का लागेपछि समयमै सम्पन्न गर्न स्थानीयको खबरदारी आवश्यक पर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान नगर प्रमुख किसान गुरुङले ग्रामीण भेगका वडालाई पनि समान ढंगले विकास गर्नुपर्ने अवधारणलाई मध्यनजर गर्दै आफ्नो पालामा नगरकै स्रोतबाट पुलमा लगानी गरिएको बताउनुभयो । 

उपप्रमुख खुम बहादुर विक राजुले विकासका पूर्वाधार निर्माणसँगै गाउँघरबाट व्यावसायिक रुपमा उत्पादन गरि बजार ल्याउनेतर्फ वडावासी लाग्नुपर्नेमा जोड दिनुभएको छ  । उहाँले बेलचौतारामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै भरपुर रुपमा उपयोग गर्न आग्रह समेत गर्नुभयो । 

नगर प्रमुख कृष्णराज पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा–३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, शुक्लागण्डकी–१ का अध्यक्ष रविचन्द्र पौडेल, वडा नं. २ का अध्यक्ष  सुमन बहादुर राना मगर, वडा नं. १२ का अध्यक्ष इन्द्र गुरुङ, नगरपालिकाका इन्जिनियर  तारापति भट्टराई, समाजसेवी डिल्लीराम अधिकारी, शुक्लागण्डकी नगरपालिकाका अधिकृत युवराज पौडेल लगायतले पुल निर्माणले स्थानीय सरकारप्रतिको विश्वास नागरिकमा बढेको भन्दै आगामी दिनमा समेत नागरिकमैत्री विकासमा  जोड दिनुपर्ने बताए । 

२०७७ साउन १३ गते निर्माण शुरु भएको सो पुल २०७९ भदौ मा सम्पन्न भई सञ्चालनमा आएको पुल निमार्णको क्रममा पुल संरक्षणकै लागि आरसीसी वाल र एप्रोज रोड उपभोक्ता मार्फत निर्माण गरिएको थियो । बबुल अफजल खान जेबीले १ करोड ४४ लाख र उपभोक्तामार्फत ८१ लाख ७३ हजार रुपैयाँ लागतमा पुल निर्माण भएको इन्जिनियर भट्टराईले जानकारी दिनुभयो । २० मिटर लम्बाई र ८ दशमलव ८ मिटर चौडाई रहेको पुल एआरसी ब्रिज डिजाइनमा निर्माण भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button