वन्यजन्तुको तथ्याङ्क सङ्कलन गर्न चितवन राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रयापिङ
चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र सडक निर्माणको सुरुवाती डिपिआर र इआइएको प्रक्रियाअन्तर्गत ट्रयापिङ क्यामरा जडान गरिएको छ ।
विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदनअन्तर्गत फ्लाइओभर र अन्डरपासका लागि जनावरको ओहोरदोहोरको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले क्यामेरा जडान गरिएको हो ।
भरतपुरको ध्रुवघाटदेखि वनकट्टा पोस्टसम्म १० वटा क्यामरा जडान भएको तथा क्यामेराले १५ देखि २१ दिनसम्म कैद गरेको जनावरको सङ्ख्यालाई आधार मानी डिपिआरमा आवश्यक फ्लाइओभर र अन्डरपासको लागि सिफारिस गरिने भएको छ ।
हाल निकुञ्ज, कसरा स्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्रे बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको छ । सर्वोच्च अदालतले दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने गरी कुनै पनि सडक निर्माणको काम नगर्न, नगराउन परमादेश जारी गरेको थियो ।
भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको नौ किलोमिटर जङ्गल पार गर्नुपर्छ । कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ । यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ । यसै आधारमा डिपिआर निर्माण गर्दा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिनुभयो ।
‘इआइएका लागि यसअघि नै वन मन्त्रालयले स्वीकृत दिएको छ’ उहाँले भन्नुभयो ‘डिपिआर गर्नका लागि निकुञ्जलाई पत्र पठाउँछौँ ।’ निकुञ्जबाट स्वीकृत प्राप्त गरेको पत्र आउनासाथ सर्भेको काम अघि बढ्ने उहाँले बताउनु भयो । भरतपुर–२९ को ध्रुवघाटबाट माडीको रिउसम्मको क्षेत्रमा प्रारम्भिकरुपमा सर्भे गरिनेछ ।
निकुञ्जले क्यामेरा ट्रयापिङमार्फत वन्यजन्तुको आवतजावतको रेकर्ड उपलब्ध गराएपश्चात् त्यही डाटाका आधारमा डिजाइनको काम अघि बढ्ने निर्देशक न्यौपानेको भनाई छ । डिपिआर निर्माणका लागि आठ महिनादेखि एक वर्षसम्म लाग्ने उहाँले जानकारी दिनुभयो । डिपिआरको काम सकेपछि इआइए गरिने छ ।
भरतपुरको ध्रुवघाटबाट माडी ठोरीसम्मको हुलाकी सडकको एकीकृतरुपमा अध्ययन र सर्भे गरिने र डिपिआर र इआइए तयारीपछि केन्द्रमा प्रस्तुतीकरण गर्ने र डिपिआर पारित गर्न युनेस्कोमा पठाइने छ । वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो सञ्चालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ ।
निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा सडक उपयुक्त हुने भनेर इआइए गर्न सहमति दिइएको बताउनु भयो । उहाँले न्यूनतम विधि, प्रक्रिया पूरा गरेर वन्यजन्तुमैत्री सडक निर्माणका लागि निकुञ्ज बाधक नरहेको बताउनु भयो । कसरा–वनकट्टा खण्डभन्दा चार किलोमिटर छोटो हुने, जैविक विविधतामा कम असर गर्ने भएकाले ध्रुवघाट–वनकट्टालाई प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।
पर्सा जिल्लाबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रबाट ठोरी हुँदै नवलपरासीको त्रिवेणी जोड्ने झन्डै ३० किमी बाटो बनाउन, २०६८/०६९ मा ठोरीदेखि चितवनको माडी, जगतपुर, मेघौली, कोलवा, बहुवन हुँदै त्रिवेणी जोड्ने हुलाकी बाटोको नक्सा स्वीकृत भएको थियो । दुर्लभ वन्यजन्तु पाइने एसियाकै दोस्रो ठूलो राष्ट्रिय निकुञ्जको रुपमा विश्व सम्पदा सूचीमा सूचीकृत छ ।
प्रतिक्रिया राख्नुहोस्