तनहुँमा रक्तदान १०२ जनाले गरे रक्तदान

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा ‘हाम्रो दलित समाज’ले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १०२ जनाले रक्तदान गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा भएको कार्यक्रममा दलित र गैर दलित समुदायका व्यक्तिहरूले सामूहिक रुपमा जम्मा भएर रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले संविधानमा लेखिएर मात्र समाजमा जातीय विभेद हट्न नसक्ने भएकाले व्यवहारिक लडाई लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका निवर्तमान उपप्रमुख एवं दलित अभियन्ता सविता रसाइलीले अझै पनि दलित समुदायले न्यायपूर्ण जीवन बाँच्न नपाएको गुनासो गर्नुभयो । उहाँले राज्य सत्ता व्यवहारिक रुपमा दलितको न्यायका लागि सकारात्मक बन्न नसक्दा जातकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी कास्कीका प्रमुख अर्जुन ज्ञवालीले दलित रक्तदान कार्यक्रमले दलित आन्दोलन सफल पार्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ‘
“दलित समुदायको रगत जुनसुकै वर्ग समुदायका मानिसमा बगिरहेको हुन्छ ।” उहाँले भन्नुभयो, “फेरी किन यो र त्यो बहानामा विभेद गर्नु ? रगत चलिसक्यो पानीमा किन अल्झने ?”
भरत लामगादेको संयोजकत्वमा भएको कार्यक्रममा प्रकाश विक, जौमाया बराल सुनार लगायतका वक्ताहरूले विभेदका लागि सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा रक्तदान गर्ने अधिकांश गैर दलित समुदायका रक्तदाताहरूले विभेद उन्मूलनको अभियानमा हातेमालो गर्न सहभागी भएको प्रतिक्रिया दिनुभएको थियो ।
नेपालमा रहेको दलित समुदायले प्रत्येक जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विशेष कार्यक्रमसहित मनाउँदै आएका छन् ।








प्रतिक्रिया राख्नुहोस्