तपाईँ सुन्दै हुनुहुन्छः

बदर मत घटाउन तनहुँमा मतदानको अभ्यास

तनहुँ । तनहुँमा बदर मतको सङ्ख्या न्यूनीकरण गर्न जिल्ला निर्वाचन कार्यालयले मतदानका अभ्यास स्वरूप नमुना मतदान गराउन थालेको छ । 

सोमबार कार्यालयको आयोजनामा जिल्लाका तीन पालिकामा नमूना मतदान सम्पन्न गरिएको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार नमुना मतदान जिल्लाका १० वटै स्थानीय तहमा गराइने योजना रहेको छ । सोमबार तनहुँको देवघाट, आँबुखैरेनी र म्याग्दे गाउँपालिकामा नमुना मतदान गराएको थियो । 

मतदाता शिक्षाको अभावमा ‘बदर’ हुन सक्ने मतको सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यले मतदानको अभ्यास गराउँदा मतदातालाई मत कसरी खसाल्ने, सही ढंगले मत खसाल्ने तरिकाका विषय सिकाइएको थियो । साथै मतदानमा सहभागीले अपनाउनुपर्ने आचारसंहिता, मतदानस्थलमा प्रवेश गर्ने, बाहिर निस्कने, मतपत्रको बारे जानकारी गराइएको थियो ।

नमुना मतदानमा ज्येष्ठ नागरिक, महिला अशक्त व्यक्तिको सहभागिता थियो । म्याग्दे गाउँपालिकामा गरिएको नमुना मतदानमा ४२ जना सहभागी भएको र दुई मत बदर भएको ढकालले जानकारी दिनुभयो । कार्यालयका अनुसार तनहुँमा मङ्गलबार बन्दीपुर गाउँपालिकामा नमुना मतदान हुँदैछ । कात्तिक २३ गते व्यास नगरपालिकामा र कात्तिक २४ गते भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका गरी तीन पालिकामा हुँदैछ । 

शुक्लाण्डकी र भानु नगरपालिकाको मिति तोक्न बाँकी छ । निर्वाचन कार्यालयले ८५ वटै वडामा एसइई उतीर्ण स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको निर्वाचन अधिकारी ढकाल बताउनुहुन्छ ।  

२०७४ को निर्वाचनमा तनहुँ–१ मा ५ दशमलव १२ प्रतिशत र २ मा ४ दशमलव ६६ प्रतिशत बदर भएकोले त्यसलाई मध्यनजर गर्दै बदर कम गर्न मतदाता शिक्षा वडा वडामा र पालिका स्तरमा नमुना मतदान कार्यक्रम राखिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button