जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिक जापान जाँदै
काठमाडौँ । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरू अब छिट्टै जापान जान पाउने भएका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार (SSW ) प्रणालीमार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
यसअघि सन् २०१९ मार्चमा (SSW ) प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसरहरू प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच एक श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सो प्रणाली अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो ।
नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल संयोजक रहेको समितिमा परराष्ट्र मन्त्रालयका ललिता सिलवाल, कानुन मन्त्रालयका हिमाल चन्द्र अर्याल र श्रम मन्त्रालयका उपसचिव डा.थानेश्वर भुसाल सदस्य रहनुभएको छ ।
त्यस्तै जापान सरकारको तर्फबाट सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा एक प्रतिनिधिमण्डल समिति बनेको छ ।
उहाँबीच बिहीबार बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत् छलफल गरि मन्त्रालयलाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ । उक्त विषयमा विस्तृत विवरण बिहीबारको बैठकपछि दिइने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्